×

पेट्रोलियम पदार्थमा प्रतिलिटर लाग्ने कर छुट दिऊँ, महँगीबाट बचाऊँः शेखर कोइराला

images

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको छ । आयात गरेर ल्याउने वस्तु भएकाले उता मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने प्रक्रिया स्वाभाविक नै हो । मूल्यवृद्धिको प्रमुख कारक भनेको रुस र युक्रेनबीचको युद्ध हो । 

यी दुई मुलुकको युद्धको प्रभावले अहिले विश्वबजार आर्थिक मन्दीको चपेटामा परेको छ ।

इन्धनको मूल्यवृद्धिले अहिले आकाश छुन लागेको छ । पेट्रोलको मूल्य १९९, डिजेल÷मट्टितेल १९२ रुपैयाँ पुगिसकेको छ । नेपाल आयल निगमको भनाइअनुसार अझै पनि यो मूल्य बढ्न सक्ने देखिन्छ । मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक निगमले असार ५ गते सार्वजनिक गरेको तथ्यांक अनुसार १५ दिनमा ४ अर्ब ८१ करोढ घाटा भएको देखिन्छ । यस्तै मासिक रुपमा करिब ४ अर्ब ७० करोड घाटा रही असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने बताएको छ । 

यसरी निगम पनि सधैं घाटामा जाने र जनतालाई पनि मर्का परिरहने अवस्था सधैं रहनुहुन्न । यसका लागि सरकारले केही न केही नयाँ उपायहरु अपनाउन आवश्यक छ । त्यसका लागि विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्छ । त्योसँगै इन्धनमा लाग्दै आएको करमा पनि छुट दिनुपर्छ ।

योसँगै पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर छुट दिएर जनतालाई तत्कालका लागि महँगीबाट बचाउनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य नघट्दासम्म इन्धनमा विभिन्न शीर्षकमा लगाउँदै आएको कर तत्कालै छुट दिएर राहतको महसुस दिलाउन आवश्यक छ ।

अहिले सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १०, सडक मर्मत कर ४ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ को आधा १२.६२ गरी जम्मा २६.६२ प्रतिलिटर नलिने निर्णय गरेर अघि बढ्न आवश्यक छ । जनताले सरकार भएको महसुस दिलाउनका लागि पनि तत्कालै यी करहरु हटाएर राहत दिनुपर्छ । 

इन्धनको मूल्यवृद्धिले सवारीसाधनमा मात्र होइन, सबैको भान्सासम्म यसले प्रभाव पारेको छ । महलमा बस्नेदेखि गाउँमा रहेको झुपडीमा बस्नेहरुलाई समेत प्रभाव पार्ने भएकोले तत्कालै यो विषयमा सरकारले निर्णय लिनुपर्छ ।

पूर्वधार करबापत लिँदै आएको कर मात्र छुट दिन सक्यो र त्यहीअनुसारको नयाँ मूल्य कायम गरियो भने जनताले सरकारको हरेक निर्णयमा साथ दिनेछन् । नत्र, जनताले सरकारको निर्णयलाई प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ । अहिलेसम्म जनताले जसोेतसो यो महँगीलाई थेगिरहेका छन् । अब थेग्न सक्दैनन् । त्यसैले तत्कालका कर हटाएर जनतालाई राहत दिनुको विकल्प छैन ।

शुक्रबार​ १० असार २०७९ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया