काठमाडौं । संघीय संसदको सार्वजनिक लेखासमितिको निर्देशन लत्याउँदै नेपाल वायुसेवा निगमले इन्जिन मर्मत सम्भार र फेर्ने बोलपत्र (टेण्डर) आब्हान गरेको छ । सन् २०१८ मै न्यारोबडी ३२० जहाजको इन्जिन मर्मत तथा फेर्ने टेण्डर जर्मनको लुप्थान्सा कम्पनीले पाएको थियो ।
ग्लोबल टेण्डर आब्हान गरी लुप्थान्साले टेण्डर पाएलगत्तै तत्कालिन कार्यकारी अध्यक्ष मदन खरेलले स्वार्थ अनुकूल नभएको भन्दै फाइल लुकाएर नयाँ प्रक्रिया सुरु गर्न लागेका थिए ।
तर, लुप्थान्साले लेखा समितिमा उजुरी हालेपछि हालका सस्कृती,पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेमबहादुर आलेसहितको समितिले कार्यकारी अध्यक्ष खरेलले गरेको नयाँ टेण्डरको प्रक्रिया रद्द गरी पुरानैलाई दिन निर्देशन दिएको थियो ।
समितिले तत्कालिन कार्यकारी अध्यक्ष खरेलले आर्थिक चलखेलका लागि लुप्थान्साले पाएको टेण्डरको फाइल लुकाएको र नयाँ प्रक्रियामा गएको ठहर गर्दै समितिले निर्देशन जारी गर्दै काम अगाडि बढाउनसमेत भनेको थियो ।
त्यही बेला हालका पर्यटनमन्त्री आलेसमेतको समिति गठन गरी छानबिन गर्दा टेण्डर पाएको लुप्थान्साले प्रक्रियाअनुसार नै रहेकोले उसैलाई काम दिनसमेत भनेको थियो ।
त्यति मात्र नभई त्यहि बेला पर्यटन मन्त्रालयले समेत लुप्थान्सालाई इन्जिनको कामको जिम्मा दिन कार्यकारी अध्यक्ष खरेललाई निर्देशन जारी गरेका थियो । तर, त्योबेला कार्यकारी अध्यक्ष खरेलले लेखा समिति र मन्त्रालयका निर्देशनलाई बेवास्ता गरेपछि लुप्थान्साले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
जुन मुद्दाको अन्तरिम आदेशको लागि १० (सोमबार) निगमका व्यवस्थापन, सञ्चालक समितिका सदस्यहरुलाई अदातलतमा बोलाएको थियो । तर, कोभिडका कारण सेवा बन्द भएकोले यही १८ गतेका लागि अदालतले बोलाएको छ । अदालतमा विचाराधीन मुद्दा रहेकै बेला निगमका कार्यकारी अध्यक्ष अधिकारीले भने हतारहतार गरी जहाज मर्मत, सम्भार तथा इन्जिन फेर्नका लागि नयाँ टेण्डर निकालेको छ ।
स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारी र पर्यटनमन्त्री आलेको मिलेमतोमा ‘सेटिङ्ग’ मिलाएर चिनियाँ कम्पनीलाई टेण्डर दिने आन्तरिक तयारी गरिएको बुझिएको छ । त्यसबापत चिनियाँ कम्पनीले २० प्रतिशत कमिशन दिने आश्वासनसमेत दिएको स्रोतको दाबी छ ।
केही समयअघि पनि कतारको दोहामा ग्राउण्डेड रहेको न्यारोबडी जहाज ३२० को इन्जिन मर्मतका लागि पनि सेटिङ्गमा टेण्डर मिलाएको बताइएको छ । हालसम्म इन्जिन भाडाका लागि कुन कम्पनीले टेण्डर पायो भन्ने सार्वजनिक गराइएको छैन ।
इन्जिनको ठेक्का सेटिङ्ग गर्ने र विभिन्न कम्पनीसँग ‘बार्गेनिङ्ग’ गर्न पर्यटनमन्त्री आलेसँगै कार्यकारी अध्यक्ष अधिकारीले टिम नै बनाएर खटाएको ती स्रोतको दाबी छ ।
यो पनि हेर्नुहोस
निगमको जहाज तीन सातादेखि ग्राउन्डेड, अदालतमा मुद्दा विचाराधीन भएको भन्दै सञ्चालक पन्छिए
एयरबसको इन्जिन फेर्न नयाँ टेन्डरः आले लेखासमितिमा हुँदा नगर्नु, पर्यटनमन्त्री हुँदा सहमति