काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १८ जुन २०२१ मा ८, ९ र ११ मिटरका १ लाख ५० थान पोल खरिद गर्ने टेन्डर आह्वान गर्यो । प्राधिकरणले निकालेको टेन्डरमा हुलास स्टिल इन्डष्ट्रिज् प्रालि, राजेश मेटल क्राफ्ट प्रालि, भगवती स्टिल, जगदम्बा र मैनावती गरी ५ वटा कम्पनीले आवेदन हाले ।
पाँच कम्पनीमध्ये भगवती, जगदम्बा र मैनावतीको पोल निर्माण र आपूर्तिमा वर्षौंदेखिको अनुभव थियो भने राजेश मेटल क्राफ्ट र हुलासको अनुभव नै थिएन । तर, प्राधिकरणले बिजुलीको पोल आपूर्ति गर्ने कम्पनीको पोल उत्पादनमा ५ वर्षको अनुभव अनिवार्य हुनुपर्ने व्यवस्था गरेको थियो ।
टेन्डरमा पाँच वर्षको अनुभव चाहिने व्यवस्था समेटिएपछि हिमांशुको कम्पनी हुलास स्टिल स्वतः रेसबाट बाहिरिने भयो । त्यसपछि उनले प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई ‘यदि आफ्नो कम्पनीलाई पोल आपूर्तिको ठेक्का पारिदिने हो भने १५ देखि २० प्रतिशत रकम घुस दिन आफू तयार रहेको’ बताएपछि प्राधिकरणको नेतृत्व पनि उनको डमुकेन्ट मिलाउन तिर लाग्यो ।
खासगरी, हुलास स्टिलको अनुभव र वार्षिक कारोबारको भोल्युम पुगेको थिएन । ५ वर्षको अनुभव र वार्षिक रुपमा २५ करोड रुपैयाँ कारोबार गर्ने कम्पनीले मात्रै टेन्डरमा सहभागी हुन पाउने व्यवस्था थियो ।
दुवै क्वालिफिकेसनमा हुलास स्टिल अयोग्य ठहरिएपछि प्राधिकरणका उच्च कर्मचारीले कुनै कम्पनीमा ५ वर्षअघि पोल आपूर्ति गरेको अनुभव ल्याउनुस्, त्यसलाई हामी मान्छौं र तपार्इंको यो डकुमेन्टमा एटेच गरेर राख्छौं भनेर हिमांशुलाई आइडिया दिए ।
त्यसपछि हिमांशुले जगदम्बा इन्टरपाईजेजलाई पाँच वर्षअघि पोल बेचेको भन्ने डकुमेन्ट तयार गरे । र, प्राधिकरणमा पछि लगेर बुझाए । उनले उक्त डमुमेन्ट दिएपछि हिमांशुले प्राधिकरणमा समिट गरेको डमुकेन्टमा उक्त अनुभवको डकुमेन्ट राखिएको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए ।
प्राधिकरणमा उनले सबैभन्दा न्यून मूल्यमा पोल आपूर्ति गर्ने भनेर टेन्डर हालेका थिए । उनको डकुमेन्ट नै नपुग्ने भएपछि सबैभन्दा सस्तो मूल्य प्रस्ताव गरेका थिए ।
‘तर, प्राधिकरणका कर्मचारीले मूल्य कम प्रस्ताव गरेको कम्पनी छान्दा विवादमा पनि नपरिने र घुस पनि खान पाइने भएपछि हिमांशुको डकुमेन्ट मिलाउन तिर लागे’ ती कर्मचारीले क्यापिटल नेपालसँग भने, ‘हिमांशुले पेस गरेको नक्कली डकुमेन्टलाई सक्कली मानेर अनुभव नै नभएको कम्पनीलाई ८ मिटरको ५० हजार थान पोल आपूर्तिको जिम्मा दिए ।’
प्राधिकरणले हुलास स्टिलसहित राजेश मेलट क्राफ्टलाई पनि पोल आपूर्तिको जिम्मा दिएको छ । हुलासले ८ मिटरका ५० हजार थान पोल आपूर्तिको ठेक्का पाएको छ भने राजेश मेटल क्राफ्टले ९ मिटरका ५० हजार थान पोल आपूर्तिको जिम्मा पाएको छ । प्राधिकरणले हुलास स्टिललाई १ अर्ब ३५ लाखको पोल किन्ने ठेक्का दिएको हो ।
यो पनि हेर्नुहोस
किर्ते डकुमेन्टलाई आधार मानेर प्राधिकरणद्वारा हुलास स्टिललाई अर्बौंको पोल ठेक्का