×

कच्चा तेलको भाउ घटेर ब्यारेलको ८० डलर नजिक

images

एजेन्सी। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ। शुक्रबार ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ प्रतिव्यारेल ८० डलरमा कारोबार भएको छ । यो मूल्य गएको जनवरीपछिको सबैभन्दा कम हो।

विश्वमा आर्थिक वृद्धि सुस्त हुने र मन्दी आउने चिन्ताका कारण शुक्रबार तेलको मूल्य ५ प्रतिशतले घटेको छ । यस्तै डब्ल्युटीआई क्रुड ब्यारेलको ८० डलर भन्दा तल झरेको छ । डब्ल्युटीआई क्रुडमा कच्चा तेलको मूल्य ब्यारेलको ५.५८ प्रतिशत घटेर ७८.३३ डलरमा कारोबार भएको छ।

यस्तै ब्रेन्ट क्रुडमा पनि ४.८१ प्रतिशतले घटेको छ। रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा युद्ध चर्काउन थप ३ लाख सेना पठाउने घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको भाउ उकालो लागेको थियो।

यद्यपि, डलर बलियोको बाबजुद तेलको मूल्य हप्ताको अन्त्यमा घट्यो र प्रमुख केन्द्रीय बैंकहरूले मुद्रास्फीतिसँग लड्न फेरि ब्याज दर बढाएसँगै मन्दीको डर बढाएकाले यसको असर तेलको बजारमा परेको विश्लेषकहरूले बताएका छन्। यस हप्ता अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले लगातार तेस्रो पटक ७५ आधार बिन्दुले ब्याजदर बढाएको छ।

अर्को दिन, बैंक अफ इङल्यान्डले ब्याजदर दरहरू ५० आधार बिन्दुले अर्थात २.२५ प्रतिशत बढायो। जुन सन् २००८को वित्तीय संकटको सुरुवात पछिको उच्चतम ब्याजदर हो।  वृद्धिको युक्रेनमाथि रुसले आक्रमण सुरु गरेपछि विश्व बजारमा कच्चा तेलको भाउ बढेर नयाँ रेकर्ड कायम राखेको थियो।

त्यसबेला कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। त्यसपछि निरन्तर ओरालो लागेको तेलको भाउ पछिल्लो समय ९० देखि ९५ डलरको हारहारीमा थियो।  शुक्रबार घटेर ब्यारेलको ८० डलरको हारहारीमा आइपुगेको हो।
 

शुक्रबार​ ७ असोज २०७९ ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया