×

‘टेस्ला’ का दुई गाडी हेर्न पाइने किन्न नपाइने 

images

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा इभी एक्स्पो २०२२ जाने अधिकांशको पहिलो नजर टेस्लाको आकर्षक गाडीमा परेको छ । प्रदर्शनीस्थल भित्र छिर्नेबित्तिकै सबैको नजर टेस्लाकै गाडीमा पर्ने गरी स्टल राखिएको छ । 

त्यसको प्रभाव पनि हुन सक्छ । तर, प्रदर्शनीमा राखिएका विभिन्न ब्रान्डका गाडीहरूमध्ये सबैभन्दा महँगो र विश्वप्रशिद्ध ब्रान्डका रूपमा परिचित टेस्लाको गाडीका बारेमा चासो लिने, फोटो ,भिडियो लिनेहरूको संख्या अत्याधिक रहेको छ । 

अमेरिकाको प्रसिद्ध विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकको नेपालका लागि आधिकारिक विक्रेता नभए पनि अहिले अरित इन्टरनेसनलले दुइटा मोडलका नयाँ गाडी ल्याएको छ । इभी एक्स्पोमा राखिएका ती दुवै गाडीहरू भने पहिला नै बुकिङ भइसकेको छ ।

अरित इन्टरनेसनलका सेल्स एन्ड मार्केटिङ विभागका रेस्मा सिंहले एक्स्पोमा राखिएको दुइटै गाडीहरू पहिला नै बुकिङ भइसकेको जानकारी दिइन् । ‘हामीले ल्याउँदा–ल्याउँदै ती दुवै गाडी बुक भइसकेको छ, सिंहले क्यापिटल नेपालसँग भनिन्, किन्न चाहनेहरूका लागि बुकिङ लिएर ल्याइदिन सक्छौं ।’

ती दुई मोडलका गाडी इभी एक्स्पोकै लागि भने ल्याइएको थिएन । बुकिङ गरेर ल्याउने क्रममा इभी एक्स्पोको आयोजना पनि भएकाले केही समयका लागि राखिएको उनको भनाइ छ । 

हाल टेस्लाले दुइटा मोडलको गाडी राखेको छ । तीमध्ये मोडल वाईको मूल्य २ करोड ४० लाख र मोडल ३ को मूल्य १ करोड ५५ लाख रुपैयाँ निर्धारण गरिएको छ । ती मध्ये इभी एक्स्पोको अवसरमा बुकिङ गर्नेहरूलाई मोडल ३ मा भने १० लाख रुपैयाँ छुटको अफर दिइएको छ ।

टेस्लाको गाडी बुकिङका लागि २५ लाख रुपैयाँ अग्रिम बुझाउनु पर्छ । बुकिङ गरेको तीन महिना भित्रमा गाडी उपलब्ध गराउने कम्पनीको भनाइ छ ।  गाडीसँगै टेस्लाकै थ्री फेज वालकनेक्टर चार्जर पनि निःशुल्क उपलब्ध हुने छ । यस्तै पोटेवल चार्जर पनि गाडीमा प्रयोग गर्न सकिन्छ । तर, यसको भने ग्राहकले छुट्टै शुल्क दिनुपर्छ । यसको मूल्य ७५ हजार रुपैयाँ लाग्छ ।

हालसम्म नेपालमा ३३ वटा गाडीहरू अरित इन्टरनेसनलले बिक्री गरिसकेको जनाएको छ । अहिले पनि हेर्न आउने, चासो राख्नेहरूको भीड धेरै बढेको बताउँदै इभी एक्स्पोपछि बुकिङ गर्नेहरूको संख्या अझै बढ्न सक्ने विश्वास लिएका छन् । हाल टेस्लाको शोरुम काठमाडौंको बाफलमा छ ।

शुक्रबार​ ७ असोज २०७९ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया