×

सरकारी जग्गा व्यक्तिकाे नाममा गरेकाे अभियाेगमा २ जना विरूद्ध मुद्दा, ५४ लाख बढी बिगो दाबी

images

काठमाडाैं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख भीमबहादुर खत्री र नायब सुब्बा रुद्रसेन साहु विरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले उनीहरू विरुद्ध ५४ लाख ८० हजार सात सय ५९ बराबरको बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

बर्दिया जिल्लाको साविक मैनापोखर गाविस–१ मा (हाल बढैयाताल गाँउपालिका–६) मा  चिरकु तेलीको नाममा २०४३ साल अघि दुई विगाहा छ कट्ठा जग्गा रहेको थियो । २०४३ सालमा उनको मृत्यु भएपछि हकखाने कोही नभएपछि सो जग्गा स्थानीय तहको नाममा जानुपर्ने थियो । तर, भूमिसुधार तथा मालपोत कार्यालयको निर्णयबाट सो जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी बिक्रीसमेत गरेको पाइएको छ।

मालपोत कार्यालय बर्दियाका तत्कालनि प्रमुख भीमबहादुर खत्री र नासु रुद्रसेन साहुले २०७७ चैत ३ मा जैनव तेलीको नाममा अस्थायी जग्गाधनी कायम गरी सैजाद तेलीको नाममा हक हस्तान्तरण गरेको अनुसन्धानबाट खुलेको छ। आयोगले हक हस्तान्तरण गरेको जग्गाको न्यूनतम मूल्यांकन रकम ५४ लाख ८० हजार सात सय ५९ रूपैयाँ बराबरको बिगो दावी गरेको छ।

नक्कली हकवालाका रुपमा रहेका बढैयाताल गाँउपालिका–६ का सैजाद तेली र जैनव तेली विरुद्ध पनि समान बिगो दाबी गरिएको छ। बढैयाताल–६ का वडा अध्यक्ष रामहरण थारु विरुद्ध पनि मुख्य अभियुक्तलाई हुने सजायको आधा सजायको मागदावी गरिएको छ। 

शुक्रबार​ ७ असोज २०७९ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया