मङ्गलबार, असोज १२ २०७८ ०४:०० PM

×

आईपीओ निष्कासनको तयारीमा रहेको रिलाइन्सले १५ नयाँ मेसिन थपेर उत्पादन बढाउँदै

images

विराटनगर । रिलाइन्स स्पिनिङ मिल्स लिमिटेडले सन् २०२२ भित्र थप १५ वटा नयाँ मेसिन थपेर धागो उत्पादन बढाउने भएको छ । २०२१ मा जापानिज प्रविधिसहित १० वटा नयाँ मेसिन ल्याएर धागो उत्पादन गरिरहेको कम्पनीले २०२२ भित्र नयाँ मेसिन थप्ने प्रक्रिया अघि बढाइरहेको सञ्चालक अक्षय गोल्यानले बताए ।

‘नयाँ प्रविधिको मेसिनबाट बनाएका धागोहरु गुणस्तरीय हुने र लागत पनि घट्छ,’ गोल्यानले भने, ‘नेपालको मुख्य समस्या भनेकै उत्पादन लागत अत्यधिक हुनु र त्यसैका कारण विश्व बजारमा प्रतिस्पर्धी हुन नसक्नु हो ।’रिलाइन्समा दुईवटा प्रविधिबाट धागो उत्पादन हुँदै आएको छ । जापानिज प्रविधिलाई ‘एडजेड स्पिनिङ’ र पुरानो प्रविधिलाई रिङ स्पिनिङ’ भनिन्छ ।

एडजेड स्पिनिङ अर्थात नयाँ प्रविधिबाट उत्पादन गर्दा विद्युत कम खपत हुने उनको भनाइ छ । ‘स्पेयर पाटहरु कम लाग्छ’ उनले भने, ‘यसले गर्दा कष्ट कम लाग्छ र रनिङ कष्ट कम छ ।’ गुणस्तर पुरानो रिङ प्रविधिको भन्दा धेरै राम्रो भएको उनको भनाइ छ ।

नयाँ प्रविधिको मेसिनबाट बनेको कपडाको धागो ननिस्किने उनको भनाइ छ । कोरोनाको महामारीमा पनि मिल्स सञ्चालन भइरहेको सञ्चालक गोल्यानले बताए । मिल्समा काम गर्ने १ हजार ८ सय मजदुर उद्योगको लेवर क्वाटरमा नै बस्ने भएकाले काम गर्न समस्या नभएको उनले जानकारी दिए । निर्यात गर्ने उद्योग भएकाले बोडर तथा बजार सबै बन्द भएको अवस्थामा सामान स्टक राखेर भए पनि काम नरोकिएको उनको भनाइ छ ।

शतप्रतिशत उत्पादन गरेको र उत्पादित सामान स्टक राख्दा केही घाटा भए पनि  अहिले बजार खुलेसँगै घाटा पूर्ति भइरहेको उनले बताए ।
रिलाइन्समा उत्पादित धागो मध्ये ७५ देखि ८० प्रतिशत विदेश निर्यात हुने गरेको गोल्यानले बताए । नयाँ प्रविधि भित्रिएसँगै उत्पादनमा वृद्धि भएको छ । ‘नयाँ प्रविधिबाट उत्पादित सामान ग्राहकले धेरै मन पराएका कारण यसको माग धेरै छ’, उनले भने । थप नयाँ प्रविधि भित्रिएसँगै उत्पादनमा वृद्धि हुन्छ र निर्यात पनि बढी हुनेछ ।

उच्च प्रविधियुक्त स्पिनिङ प्लान्ट र मेसिनरी जडान गरी कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादित धागो विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।

गोल्यानका अनुसार अल्लोको कपडा उत्पादन भर्खरै सुरु गरेकाले थोरै उत्पादन हुने गरेको छ । यसलाई विस्तारै बढाउँदै लैजाने सोचमा छौं । उत्पादित अल्लोको सामान कोरिया र जापानमा निर्यात हुने गरेको उनको भनाइ छ ।

रिलाइन्स स्पिनिङ मिल्समा ४ हजार ५ सय जनाले रोजगारी पाएका छन् । २५ वर्ष पुरानो उद्योगमा १२ अर्बभन्दा बढी लगानी रहेको जनाइएको छ । यो लगानी अझै थप हुँदै जाने बताइएको छ ।

पुरानो प्रविधिबाट दैनिक ८० हजार किलो धालो उत्पादन गरिरहेको उद्योगले नयाँ प्रविधिबाट अहिले दैनिक थप १५ हजार किलो धालो उत्पादन गरिरहेको छ । १५ वटा नयाँ प्रविधिको मेसिन थप भएपछि २५ हजार किलो धागो उत्पादन थप हुने गोल्यानले बताए ।

१५ वटा नयाँ प्रविधिको मेसिनले दैनिक ४० हजार किलो धागो उत्पादन गर्ने उनले जानकारी दिए । हाल पुरानो प्रविधिबाट ८० हजार किलो र नयाँ प्रविधिबाट १५ हजार किलो गरी जम्मा ९५ हजार किलो धागो उत्पादन हुने गरेको सञ्चालक गोल्यानले जानकारी दिए ।

सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको यो उद्योगमा गोल्यान र एमएस समूहको लगानी छ । सर्वसाधारणका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको रिलाइन्समा अबको पाँच वर्षमा दुई अर्बसम्म लगानी गर्ने लक्ष्य राखिएको गोल्यानले जानकारी दिए ।

२०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएर सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो यस स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् १४ लाख ६० हजार कित्ता सेयरमध्ये ४० प्रतिशत सेयर योग्यसंस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ ।

शुक्रबार​ ८ साउन २०७८ १२:१९ PM मा प्रकाशित

प्रतिक्रिया