×

पुँजीगत लाभकरको सीमा घटाउने सरकारको तयारी

images

काठमाडौं । सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरको (क्यापिटल गेन ट्याक्स) सीमा घट्ने भएको छ । सेयर बजार निरन्तर ओरालो लागेका बेला यसलाई गति दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरको सीमा घटाउने तयारी थालेको हो ।  

अर्थ मन्त्रालयले पुँजीगत लाभकर घटाउने तयारी गरिरहेको स्रोतले बतायो । ‘लाभकरको सीमा कति घटाउने भन्ने विषयमा मन्त्रालयमा छलफल चलिरहेको छ’ स्रोतले भन्यो ‘घटाएर सीमा कति राख्ने भन्ने कुरा अझै स्पष्ट भएको छैन । तर, घट्ने निश्चित भएको छ ।’

हाल सेयर किनेको एक वर्ष अगावै बेचेमा त्यस्तो कारोबारमा ७ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ । यस्तै किनेको एक वर्षपछि सेयर बिक्री गरेमा ५ प्रतिशत मात्र लाभकर लाग्ने व्यवस्था छ ।

यसलाई पुनरावलोकन गरेर सेयर बजारप्रति लगानीकर्तालाई आकर्षित गर्ने लाभकारको सीमा परिमार्जन गर्न लागिएको अर्थ स्रोतको भनाइ छ । लाभकरको सीमा दुईवटा छ । यसलाई हटाएर एउटै राख्ने सोचमा मन्त्रालय पुगेको छ ।

सेयर बजार बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३२०० अंक पुगेको थियो । यस्तै कारोबार रकमसमेत बढेर २२ अर्ब रुपैयाँ पुगेको थियो । पछिल्लो समय नेप्से सूचक घटेर २२३५ अंकमा झरेको छ ।

कारोबार रकमसमेत घटेर १ अर्ब तल झरेको छ । ४ करोड र १२ करोड रुपैयाँको ऋण लगानी सीमाले अहिले सेयर बजार थलिएको छ ।

बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ता निरुत्साहित हुन पुगेका छन् । बैंकिङ प्रणालीमा तरलता संकटका कारण बजार माथि उठ्न सकेको छैन । यसलाई बढाउन लगानीकर्ताहरुले लाभकरको सीमा घटाउन माग गरिरहेका छन् । 
 

सोमबार ९ जेठ २०७९ १०:४१ AM मा प्रकाशित

प्रतिक्रिया