काठमाडौं । सरकारले रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबामा सुरुङ निर्माणको काम अघि बढाएको छ । सडक विभागले सिद्धबाबा सुरुङमार्ग बनाउन विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान गरेको छ । सिद्धबाबा क्षेत्रको करिब १.७ किलोमिटर सुरुङमार्ग बनाउन स्टिमेट र डिजाइन स्वीकृत गरिसकेपछि ग्लोबल टेण्डरको आह्वान गरिएको हो ।
सुरुङमार्ग बनाउने कम्पनीले आगामी जुलाई ७ तारिखसम्ममा बोलपत्र पेश गर्नुपर्ने विभागले जानकारी दिएको छ । आयोजना इन्जिनियरिङ प्रोक्युमेन्ट कन्ट्रक्सन (ईपीसी) मोडेलमा निर्माण हुने भएको छ । सुरुङमार्गको निर्माण जिम्मा पाउने निर्माण व्यवसायीले सम्पन्न भएको ५ वर्षसम्म मर्मत र सञ्चालनसमेत गर्नुपर्ने भएको छ ।
सिद्धबाबामा दुई लेनको सुरुङमार्ग बन्न लागेको हो । अर्थ मन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चितता गरेको छ । अर्थको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ ।
मंसिर १ गते तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरेका हुन् । सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड २०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन अर्थले स्वीकृति दिएको हो ।
मनसुन सुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जानेहरूका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिने गरेको छ । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्युमार्ग जस्तै बन्ने गरेको छ । स्थानीयवासी सधैं समस्यामा नै परिरहेका छन् ।
पहिरामा परेका कतिका परिवार बिते, कति टुहुरा भए । अनि अपांगताको जीवन अझै बाँचिरहेका पनि छन् । स्वीस परामर्शदाताले सो सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब चार किलोमिटर क्षेत्र पहिराको अत्याधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको १.३ किलोमिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।
सो सडकखण्डलाई पहिराबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन । त्यसको विकल्पमा सुरुङ नै उत्तम विकल्प भएको जानकारको भनाइ रहँदै आएको थियो । त्यसखण्डको भौगर्र्भिक अध्ययनका लागि स्वीस डेभलपमेन्ट को–अपरेसनले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
सडक विभागका अनुसार चिडियाखोला छेउबाट सुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने सुक्खा र ढुङ्गे पहिराका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् ।