×

कोरोना महामारीः अधिकांश व्यवसायी संक्रमित, निर्माणको काम १ वर्ष पछि धकेलियो 

images

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण निर्माण व्यवसायको काम १ वर्ष पर धकेलिएको छ । कोरोनाको पहिलो र दोस्रोभन्दा तेस्रो लहरमा ३ गुणा बढी व्यवसायी तथा कर्मचारी संक्रमित भएपछि निर्माणको काममा ढिलाइ हुने भएको हो । 

निर्माण व्यवसायीदेखि कर्मचारीसमेत कोरोनाको तेस्रो लहरबाट संक्रमित भएपछि निर्माणको काममा समस्या भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । 

नेपालमा १५ हजार बढी निर्माण व्यवसायी महासंघमा आबद्ध छन् । त्यसमध्ये करिब २५ प्रतिशत व्यवसायीलाई कोरोना संक्रमण भएको महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । उनका अनुसार व्यवसायी मात्र नभई प्राविधिक, मजदुर तथा कार्यालयका कर्मचारी पनि कोरोना संक्रमित भएका छन् । जसका कारण सेवा प्रवाह र निर्माणको काममा बाधा पुगेको छ । 

‘जसलाई सोधे पनि संक्रमित भएको मात्रै भन्छन्, कति संक्रमित भए छुट्याउनै गाह्रो छ । करिब २५ प्रतिशत संक्रमित भएको अनुमान हो’, क्यापिटल नेपालसँग कुरा गर्दै अध्यक्ष सिंह भने, ‘कार्यालय, कन्सल्ट्यान्टहरु खुला भए पनि काम गर्ने मान्छेलाई कोरोना हुँदा बन्दजस्तो अवस्था छ ।’ 

सरकारले कोरोना संक्रमणको समयमा पनि निर्माण व्यवसायलाई सुचारु गर्ने जनाउँदै आएको छ । सोहिअनुसार लकडाउन तथा निषेधाज्ञामा पनि निर्माण व्यवसायको सामान ढुवानीमा कडाइ भने गरिएको थिएन ।

साथै कोरोना संक्रमणसँगै बैंकमा लगानीयोग्य पुँजी (तरलता) संकटले पनि निर्माण कार्यमा अवरोध पुगेको अध्यक्ष सिंहको भनाइ छ । ‘हामीलाई कोरोना र तरलता अभाव दुवैले गाँजेको छ त्यसैले निर्माणको काम अगाडि बढ्न सकेको छैन’ उनले भने । 

सरकारले आगामी चैतसम्म सम्पूर्ण आयोजनाको म्याद थपेको छ । कोरोना संक्रमणको कारण निर्माण कार्य सञ्चालनमा बाधा पुगेको भन्दै सरकारले म्याद थपेको हो । 

तर, थप गरिएको समयमा पनि सम्पूर्ण व्यवसायीहरुले काम सम्पन्न गर्न नसक्ने देखिएको छ । यद्यपि महासंका अध्यक्ष सिंह भने चैसम्म आफ्नो जिम्मेवारी पूरा नगरे व्यवसायीहरुलाई नै समस्या बढ्ने बताउँछन् । 

उनी भन्छन्, ‘म्याद थप्दा व्यवसायीलाई बिमादेखि बैंक ग्यारेन्टीको धेरै आर्थिक भार पर्छ । त्यसैले म्याद नथप्ने गरी काम अघि बढाएका छौं । तर, कोरोना र तरलता अभावका कारण थोरै निर्माणका काममा म्याद थप्नु पर्छ होला ।’ 

महासंघले आयोजनाको म्याद चैतबाट थप्ने विषयमा सरकारलाई कुनै अनुरोध नगरेको जनाएको छ । म्याद थपको विषयमा अध्ययन गरेर अघि बढ्ने महासंघले जनाएको छ । 

कोरोनाको पहिलो र दोस्रो लहरबाट २६० जना संक्रमित भएका थिए । जसमध्ये ४५ जना निर्माण व्यवसायीको कोरोनाकै कारण मृत्यु भएको महासंघले जनाएको छ ।

हाल तेस्रो लहरबाट संक्रमित हुनेको संख्या एकिन नभएको महासंघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रेमसिंह ऐर बताउँछन् । सीईओ ऐरका अनुसार पहिलो र दोस्रोको तुलनामा तेस्रो लहरबाट संक्रमित हुने व्यवसायीको संख्या तीन गुणाले बढेको छ । र, त्यसको प्रत्यक्ष असर निर्माण कार्यमा परेको छ । 

तेस्रो लहरसँगै निर्माण कार्य पनि १ वर्ष लम्बिने सीईओ ऐरको भनाइ छ । ‘तेस्रो लहरको असर १ वर्ष नै पर्छ’, उनले भने, ‘काम गर्ने समय अहिलेदेखि जेठसम्म हो । त्यसपछि बर्खा र चाडवाड लाग्छ । अहिले कोरोनाले असर गरेको छ ।’ 

कोरोना मात्र नभई निर्माण व्यवसायीलाई सरकारले करिब ३० अर्ब रुपैयाँ भुक्तानी नदिँदा पनि काममा बाधा पुगेको उनी बताउँछन् । ‘सडक, सिँचाइ, भवनलगायत सबैको निर्माण सम्पन्न भएर बिल पेस गर्दा पनि रकम भुक्तानी भएको छैन । पैसा माग्दा सरकारले छैन भन्छ’ उनले सुनाए । 
 

आइतबार​ ९ माघ २०७८ ०५:०० PM मा प्रकाशित

प्रतिक्रिया