काठमाडौं । नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्वायर) गर्ने सम्झौता गरेको केही दिनपछि प्रभु र सेञ्चुरी बैंकबीच मर्जमा जान छलफल सुरु भएको छ । प्रभुले विभिन्न बैंकसँग मर्जका लागि प्रस्ताव गरे पनि सेञ्चुरीले उसको प्रस्ताव मानेकाले मर्जकाे छलफल अघि बढेको दुवै बैंकका सञ्चालकहरुले बताएका छन् ।
‘अहिले स्वाप रेसियोमाथि छलफल भइरहेको छ’ सेञ्चुरी बैंकका एक सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘हामीले प्रभुसँग १०० बराबर ८८ मागेका छौं । प्रभु ८५ दिन तयार भइसकेको छ । तर, दुवै पक्ष अहिले पनि छलफलमै छन् ।’
नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको भोलिपल्ट नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्ज भाँडिएको थियो । नबिलले प्राप्ति प्रक्रियालाई अघि बढाएकाले प्रभु र सेञ्चुरी बैंक मर्जमा जानका लागि प्रक्रिया अघि बढाएका हुन् ।
सेञ्चुरी मर्जमा जान पहिल्यैदेखि इच्छुक छ । ठूला बैंकहरुलाई पनि जोडी खोजेर आफू ठूलो र बलियो बैंक बन्नुपर्ने दबाब छ । अहिले सबै बैंकले भित्रभित्रै जोडी खोजिरहेका छन् ।
स्रोतका अनुसार प्रभुसँग सेञ्चुरी गाभिने, प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने रहनेसमेत सहमति भएको ती सञ्चालकले जानकारी गराए ।
दोस्रो त्रैमासमा सेञ्चुरी बैंकले ५४ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमासमा ७२ करोड २१ लाख रुपैयाँ खुदनाफा कमाएको छ । यस्तै प्रभुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा १ अर्ब २६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।
प्रतिक्रिया