बिहीबार, मंसिर १६ २०७८ ०९:३६ PM

×

मह उत्पादन घटेपछि निराश माैरीपालकहरू

images

नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्री गरे । त्यसबापत चार लाख ५० हजार आम्दानी भयो । तर यसवर्ष ५० धार्नी पनि मह उत्पादन भएन । सोचेजस्तो उत्पादन नहूँदा बुढा निराश बनेका छन् ।

सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका उनी आम्दानी घटेपछि निराश छन् । बुढा र पुन त प्रतिनिधि पात्र मात्र हुन् । अहिले जिल्लाका ३५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउँछन् । गत असोज-कात्तिक महिनामा भएको  अधिक वर्षाले चिउरीलगायत अन्य फूलको रस बगाउँदा जिल्लाभर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीको भनाइ छ ।

'मौरीलाई चरन क्षेत्रको अभाव, वन विनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायत कारण मह उत्पादन घट्दै गएको हो', उनी भन्छन्- 'विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायत समस्या पनि अर्को कारण हो ।'

गतवर्ष प्रतिधार्नी एक हजार ५०० मूल्य पर्ने मह यो वर्ष दुई हजार ५०० देखि तीन हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको हो । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो वर्ष निराश भएका छन् । रासस
 

 

सोमबार ६ मंसिर २०७८ ०३:५१ PM मा प्रकाशित

प्रतिक्रिया