काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा एडीबीले सोभन्दा कम हुने प्रक्षेपण बुधबार सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष ०७६/०७७ मा २.१ प्रतिशतले ऋणात्मक भएको अर्थतन्त्र गत आर्थिक वर्षमा २.१ प्रतिशतले धनात्मक भएको एडीबीले जनाएको । केन्द्रीय तथ्याँक विभागले गत आर्थिक वर्ष ४ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ ।
सरकारको अनुमानभन्दा एडीबीले धेरै कम हुने प्रक्षेपण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा एडीबीले ३.१ प्रतिशत आर्थिक विस्तार हुने सार्वजनिक गरेकोमा पछि पुनरावलोकन गरी २.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको हो ।
यस्तै चालू आर्थिक वर्षमा एडीबीले ५.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा यसको पुनरावलोकन गरी ४.१ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ ।
गत वर्ष मुद्रास्फीति ३.६ र चालू वर्ष ५.२ प्रतिशत रहने अनुमान एडीबीको छ । सरकारले चालू वर्ष मुद्रास्फीति साढे ६ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ । कुल गर्हस्थ उत्पादन (जीडीपी) को तुलनामा चालू खाता घाटा ५ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ । गत वर्ष चालू खाता घाटा ८ प्रतिशत थियो ।
सरकारले कोरोनाविरुद्धको खोप खरिद गरी लगाउन थालेकाले गतिविधिमा सुधार आई आर्थिक वृद्धि हुने अनुमान गरिएको एडीबीले जनाएको छ । सरकारले चालू वर्षभित्र ७२ प्रतिशत जनतालाई खोप लगाइसक्ने बताएको छ ।
यो वर्ष पर्यटनको वृद्धि सीमित हुने भनाइ एडीबीको छ । यो वर्ष बजेटमा स्वास्थ्य सेवालाई अझ मजवुत बनाउने, रोजगारी सिर्जनाका साथै सामाजिक सुरक्षाको विस्तार र कृषि उत्पादनमा जोड दिने योजना ल्याएको एडीबीले उल्लेख गरेको छ ।
यसैगरी नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले कारोना महामारीबाट प्रभावित व्यवसायलाई पुनर्कर्जा, सहुलियत कर्जाका साथै थप सहुलियत दिने भएकाले यसबाट पनि आर्थिक विस्तारमा सघाउ पुग्ने एडीबीको भनाइ छ ।