काठमाडौ । सामान ढुवानीमा निजी रेलको प्रवेशपछि कंकोरले ३० प्रतिशत भाडा घटाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतबीच निजी रेलले नेपालमा पनि सामान ढुवानी गर्न सक्ने सम्झौतापछि पहिलो पटक निजी रेल सामान बोकेर ल्याएसँगै कंकोरले भारी मात्रामा भाडादर कटौति गरेको हो । त्यसैगरी कंकोरले गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) पनि नलगाउने निर्णय गरेको छ ।
यसअघिसम्म रेल सेवामा एकाधिकार गर्दै आएको कंकोरले निजी रेललाई चुनौति नै दिएर भाडादर घटाएको हो । हिन्द टर्मिनलले नेपालमा सेवा सुचारु गरेपछि कंकोरको एकाधिकार तोडिएको छ भने भाडामा समेत नेपाली व्यवसायीलाई ठूलो राहत दिएको छ । नेपालमा प्रिन्टाइनले पनि रेलमार्फत सामान ढुवानी गर्न खोजिरहेको छ । कंकोरले निजी क्षेत्रका रेललाई चुनौति दिएर भाडा घटाएको हो ।
यसअघि न्यूनतम ३० हजार भारु रहेकोमा भाडादर ३० प्रतिशत घटाएर २० मिटर कन्टेनरको २१ हजार भारुमा झारेको छ । त्यसैगरी, ४० मिटर कन्टेनरको न्यूनतम ३७ हजार भारुमा झारिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस अघि ५३ हजार भारु थियो ।
कंकोर भारतको रेलवे बोर्डको सहायक कम्पनीमार्फत चलाइएको छ । तर, पनि कंकोरमा पनि निजी क्षेत्रको सेयर बढाइसकेका छन् ।
कंकोरमा निजी क्षेत्रको पनि झण्डै ६५ प्रतिशत भन्दा बढी सेयर छ । तर, निजी रेलको भन्दा कंकोरको बजार हिस्सा ठूलो छ । कंकोरसँग निजी रेलको तुलनामा धेरै रेकहरु छन् । योसँग २०० भन्दा बढी रेक छ ।
‘कंकोरले निजी रेललाई आफ्नो चुनौति रुपमा लिएको छ र सेवालाई थप प्रभावकारी बनाउने सम्भावना पनि उत्तिकै रहेको वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैजु बताउँछन् ।
कंकोरले यसपटकबाट जीएसटी पनि नगलाउने निर्णयलाई कार्यान्वयन गरेको छ । वाणिज्य मन्त्रालय र भारतबीच भएको सहमतिमा पहिल्यै जीएसटी नलगाउने सहमति भइसकेको थियो । तर, कंकोरले कार्यान्वयन गरेको थिएन । तर, अहिले निजी रेल प्रतिस्पर्धामा उत्रिएपछि जीएसटी पनि नलगाउने निर्णय गरेको उनको भनाइ छ ।
२०१७ मै जीएसटी लागू नगर्ने सहमति भइसकेको थियो । तर, कार्यान्वयनमा आउन सकेको थिएन । कंकोरले सूचना नै जारी गरेपछि पनि जीएसटी लगाइरहेको थियो ।
केही दिनअघि मात्रै कंकोरले जीएसटीसमेत जोडेर भाडादरको सूचना निकालेको थियो । तर, निजी रेलले सेवा नै दिन थालेपछि तत्काल जीएसटी खारेज गरेर नयाँ भाडादर तय गरेको हो ।
कंकोर र निजी रेलबीच हुने प्रतिस्पर्धाले नेपाली व्यवसायीलाई ठूलो फाइदा पुग्ने सरकारी अधिकारीहरु बताउँछन् । भारतमै प्राइभेट रेलवे अपरेटलाई खुला गरेपछि कंकोरमा पनि इफिसिएन्सी ह्वात्तै बढेको हो । अब नेपालतर्फको कार्गोमा पनि कंकोरले आफ्नो इफिसिएन्सी बढाउने सम्भावना छ ।
भारतमा प्राइभेट रेलवे अपरेटरले दिने सेवा उच्चस्तरीय छ । मूल्य त एकातिर भइहाल्यो, त्यसबाहेक अन्य धेरे सुविधा निजी क्षेत्रका रेलले दिन सक्छन् । जस्तो, प्राइभेट रेलवेले त्यही हाराहारी वा त्यो भन्दा केही प्रतिशत महँगो भाडा लिए पनि छिटै सामान डेलिभरी गर्यो भने त्यो बढि फलदायी हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘अहिले कोलकात्ताबाट ५ दिनमा वीरगंज सामान आइरहेको छ । त्यो एक दिन मात्रै घट्यो भने पनि ठूलो कुरा हुन्छ,’ सैंजुले भने, ‘यतातिर निजी रेलले फाइदा दिन सक्छ ।’ पहिले पहिले त कुन दिन सामान आइपुग्छ भन्ने टंगो हुँदैन थियो । तर, पछि इलेक्ट्रोनिक ट्याकिङ लागू गरेपछि ७ देखि ९ दिन हाराहारीमा सामान आइरहेको छ ।
नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा कोन्करलाई एकाधिकार दिएको थियो । ३ महिनाअघि मात्रै सम्झौता संशोधन भएको थियो । त्यसपश्चात पहिलो पटक निजी रेलबाट ढुवानी गर्न सकिएको थियो ।
संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।
एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । त्यसमध्ये केही कम्पनीले नेपालमा सेवा दिने तयारी गरिरहेका छन् ।
रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ ।
यो पनि हेर्नुहोस
हिन्द टर्मिनलको रेल ९० कन्टेनर बोकेर आयो नेपालतिर, पहिलो पटक निजीको प्रवेश