काठमाडौं । पाँच वर्ष अघिदेखि बिजुलीको पोल उत्पादन नै नगरेको हुलास स्टिललाई नेपाल विद्युत् प्राधिकरणले पोल आपूर्तिको ठेक्का दिएको छ । हुलास स्टिलले पाँच अघि आफू पोल उत्पादनमा रहेको भनेर किर्ते डकुमेन्ट बुझाएको आधारमै प्राधिकरणले पोल आपूर्तिको जिम्मा दिएको हो ।
प्राधिकरणले गत असारमा बिजुलीको पोल आपूर्तिका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा निरन्तर पाँच वर्षदेखि पोल उत्पादन गरिरहेको अनुभव हुनुपर्ने छ । तर, हुलास स्टिलले विगत १० वर्षदेखि पोल उत्पादन बन्द गरेको थियो ।
हुलासले २०१८ नोभेम्बर ४ मा जगदम्बा इन्टरप्राइजेजलाई पोल बेचेको भन्ने किर्ते डकुमेन्ट बनाएर टेन्डरमा सहभागी भएको कम्पनीलाई अन्ततः पोल आपूर्तिका लागि प्राधिकरण नेतृत्वले योग्य ठानेको छ । विगत पाँच वर्षमा हुलासले कुनै पनि पोल उत्पादन, बिक्री वितरण गरेको छैन । तर, भित्रभित्रै सेटिङ मिलाएर नक्कली डकुमेन्टलाई समेत प्राधिकरणले सक्कली मानेर पोल आपूर्तिको जिम्मा लगाएको प्राधिकरण स्रोतले बताएको छ ।
सुरुमा हुलासले अनुभव नै नराखी डकुमेन्ट समिट गरेको थियो । प्राधिकरण नेतृत्वसँग परामर्शपछि हुलासले एक निजी कम्पनीलाई पोल बिक्री गरेको भनेर अनुभव लेटर लिएर गएको र सो लेटरपछि डकुमेन्टमा राखिएको प्राधिकरणका एक अधिकारीले बताए ।
हुलास स्टिलका निर्देशक हिमांशु गोल्छाले आफूहरु उत्पादक भएको र २०१८ मा जगदम्बा इन्टरप्राइजेजलाई पोल आपूर्ति गरेको दाबी गरे । आफूले सबै डकुमेन्ट नियमसंगत बुझाएको र प्राधिकरणबाट पोल आपूर्तिका लागि अन्तिम लेटरसमेत आइसकेको बताए । प्राधिकरणले हुलास स्टिललाई १ अर्ब ३५ लाखको पोल किन्ने ठेक्का दिएको हो । गोल्छाले आफूले सबैभन्दा कम मूल्य प्रस्ताव गरेकाले छनोटमा परेको बताए ।
तर, प्राधिकरण स्रोतका अनुसार आफूलाई मिल्ने गरी जगदम्बा इन्टरप्राइजेजबाट डकुमेन्ट लिएर आएको हो । हिमांशुले प्राधिकरण नेतृत्व र सम्बन्धित शाखाका व्यक्तिलाई रिझाएपछि नक्कली डकुमेन्ट पनि सदर भएको स्रोतको दाबी छ । जानकारका अनुसार हुलासले पोल उत्पादन गर्न लागेको १ वर्ष पनि भएको छैन । तर, त्यही कम्पनीले पाँच वर्षअघि पोल बनाएर जगदम्बा इन्टरप्राइजेजलाई बेचेको भन्ने तथ्य सरासर गलत भएको बताउँछन् ।