बिहीबार, मंसिर १६ २०७८ ०९:०३ PM

×

सेयर बेच्न बंगलादेशी आइतबार नेपाल आउँदै, विनोद चौधरी र गभर्नर अधिकारीसँग छलफल गर्ने 

images

काठमाडौं । नेपाल बंगलादेश बैंकमा रहेको आइएफआइसीको सेयर बेच्नका लागि आइतबार बंगलादेशी नेपाल आउने भएका छन् । केन्द्रीय बैंकले लक्ष्मीबहादुर श्रेष्ठको समूहलाई आइएफआइसीको सेयर किन्न अनुमति नदिएपछि बंगलादेशीहरु थप छलफल गर्न आउन लागेका हुन् । 

उनीहरु उद्योगपति विनोद चौधरी र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि सेयर बेच्ने विषयमा छलफल गर्ने बताइएको छ । बंगलादेशीहरु नेपालको कुन समूह र व्यक्तिलाई केन्द्रीय बैंक सेयर बेच्न अनुमति दिन चाहन्छ भनेर बुझ्न पनि आउन लागेको बुझिएको छ । 

हुन त भरखरै नेपाल बंगलादेश बैंकको साधारणसभा सम्पन्न भएको छ । नेपाल बंगलादेश बैंकमा संस्थापक सेयरधनीका तर्फबाट तीन जना सञ्चालक बंगलादेशी छन् । उनीहरुबाटै अध्यक्ष पनि बैंकले चुनेको छ । अध्यक्षलाई केन्द्रीय बैंकका गभर्नर अधिकारीले शपथ गराउने व्यवस्था छ । शपथ लिनका लागि पनि बंगलादेशीहरु यहाँ आउन लागेको पनि बताएको छ । 

तर, बंगलादेशीहरु नेपाल बंगलादेशमा रहेको आइएफआइसी सेयर बेच्न चाहिरहेका छन् । त्यो सेयर विनोद चौधरीले किन्नेसमेत बताइएको छ । चौधरीले उक्त सेयर किनेपछि बंगलादेश बैंकलाई नबिल बैंकमा मर्ज गराउने समेत बजारमा चर्चा छ । 

त्यही भएर बंगलादेशीहरु चौधरीलाई नै सेयर बेच्न इच्छुक देखिएका छन् ।  एनबी बैंकमा आइएफआइसीको ४० प्रतिशत सेयर छ । बंगलादेशीले एकमुष्ट रुपमा एकै समूह वा व्यक्तिलाई सेयर बेच्न चाहेको छ । त्यही भएर बंगलादेशीले विनोद चौधरीलाई केन्द्रमा राखेको हो । 

यदि चौधरीले एनबी बैंकको सेयर किनेमा नबिलसँग मर्ज हुने सम्भावना अधिक हुन्छ । नबिलमा चौधरीको बर्चश्व पनि कायम हुन्छ । अहिले नबिलका सञ्चालकदेखि एनबी बैंकका सञ्चालक पनि नबिलसँग मर्ज गराउन सहमत देखिएका छन् । त्यसका लागि चौधरीले एनबी बैंकको सेयर किन्नुपर्छ । 
 

आइतबार​ ५ मंसिर २०७८ ०९:०५ AM मा प्रकाशित

प्रतिक्रिया