काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्षद् तथा संविधान दिवस २०७८ मा विभूषित हुनेलाई सम्मान गरेको छ ।
संघका सदस्यहरुलाई अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए । प्रबल जनसेवाश्री पदकबाट नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ तथा संस्थाका पूर्वअध्यक्ष नारायण बजाज र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंलाई सम्मानित भएका थिए ।
सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका पूर्वअध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका पूर्वअध्यक्ष, नेपाल अडिटर एसोसिएसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्षद्, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसिएसन सदस्यलगायत चार्टर्ड एकाउन्टेन्टस् क्षेत्र सम्बद्ध व्यक्तिहरुको उपस्थिति थियो ।
संघका अध्यक्षले आईसीएएन, एसीएएन, एयूडीएएन, एएसबी/एयूएबी सबै संस्थाहरुको प्रत्यक्ष–परोक्ष उद्देश्य लेखा व्यवसायको प्रवद्र्धन, सम्बर्द्धन र विकास रहेकाले एकअर्काका परिपूरक तथा साझेदारको रुपमा काम गर्नुपर्ने बताए ।
त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका नवनिर्वाचित अध्यक्ष युद्धराज ओलिले चार्टर्ड एकाउन्टेन्टस्बीचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा नेपाल अडिटर एसोसिएसनका अध्यक्ष मोहनराज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखा परीक्षक बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले विचार राखेका थिए ।