बुधबार, साउन १३ २०७८ ११:१९ AM

×

टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका काला कर्तुत 

images

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई मंगलबार रातिदेखि बुधबार बिहानसम्म टेलिकमकै कर्मचारीहरुले घेराबन्दी गरी आफ्नै कार्यकक्षमा बन्दी बनाए । 

कर्मचारीको वृत्तमा विकासमा ध्यान नदिई निजी तथा आफ्ना आसेपासेको हित रक्षार्थ हुने किसिमले कर्मचारी विनियमावली संसोधन गरेको कारण प्रवन्ध निर्देशक अधिकारी आफ्नै कार्यकक्षमा बन्दी बनेका थिए । 

२०७५ सालमा टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएका डिल्लीराम अधिकारी नेतृत्वको टेलिकमले तीन वर्षदेखि कर्मचारी बढुवाका लागि सूचना प्रकाशित गरेको छैन । 

जसले गर्दा चार हजार कर्मचारी कार्यरत मुलुककै अग्रणी संस्थाको ११ औं तहमा ११ कर्मचारी हुनुपर्नेमा हाल २ जना मात्र छन् । बाँकी ९ वटा पदमा १० तहका कर्मचारीलाई दरबन्दी हुँदा हुँदै पनि निमित्त दिई काम कारवाही गराउँदै आएको छ । 

साथै बढुवा सूचना प्रकाशित नहुँदा ९ तहमा कार्यरत कर्मचारीहरु १० औं तहमा बढुवा हुनबाट बञ्चित भएका छन् । कार्मचारी बिनियम लागू नगरेकै कारण १० औं तहमा कार्यरत लगनशिल वरिष्ठ ४ कर्मचारीहरु ११ औं तहमा बढुवा नभई अवकास हुनु परेको थियो ।  

कम्पनीको हितमा कार्य गर्ने तर आफ्नो निर्देशनको ईशारामा नचल्ने कुनै पनि कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी नदिएको आरोप उनीमाथि लाग्ने गरेका छन् । आफूले भनेका नमान्ने ११ तहका वरिष्ठ उप प्रवन्ध निर्देशकहरुलाई १२ औं तहमा पदोन्नती गरेनन् । तर आफू निकट र उनले भनेका मान्ने कनिष्ठ कर्मचारीहरुलाई सीटीओ जस्तो महत्वपूर्ण जिम्मेवारी दिने भने, दुईवटासम्म शाखाको जिम्मेवारी दिने र अरुलाई जिम्मेवारी बिहीन बनाउने काम गरेका थिए । 

प्रवन्ध निर्देशक अधिकारी स्वयम पनि कनिष्ट कर्मचारीको रुपमा बबरमहल स्थित नेपाल टेलिकमको ब्याकबोन निर्देशनालयमा कार्यरत थिए । 

पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यकालमा वार्षिक आय तथा कूल नाफामा गिरावट आएको र निजको कार्यशैली पनि सन्तोषजनक नरहेको बहानामा गोकुल बास्कोटा नेतृत्वको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई बर्खास्त गरेको थियो । तर २०७५ मा लगत्तै कनिष्ट तहबाट प्रवन्ध निर्देशकमा नियुक्त भएका अधिकारीको कार्यकालमा कूल नाफा निरन्तर घटिरहेको छ । 

पूर्व प्रवन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यकालमा आर्थिक वर्ष २०७४/०७५ मा नाफा १७ अर्ब ४० करोड थियो । तर डिल्लीराम अधिकारीको पहिलो कार्यकालको आर्थिक वर्ष २०७५÷०७६ मा नाफा एकैपटक सात अर्ब २० करोडले घटेर १० अर्ब २० करोड पुगेको । त्यसयता ०७६/०७७ मा आठ अर्ब ५५ करोड र गत वर्ष २०७७÷०७८ मा ८ अर्ब ९० करोड मात्र कूल नाफा रहेको अनुमान गरिएको छ ।  
कूल नाफा निरन्तर ओरालो लागि राजस्व समेत उत्साहजनक छैन । यद्यपि अधिकारीलाई कारावाही नहुनुले उनलाई माथिबाटै संरक्षण प्राप्त भएको देखिन्छ । 

राजभण्डारीको बहिगर्मन पश्चात डिल्लीराम अधिकारीको तीन वर्षे कार्यकालमा टेलिकमले कुनै नयाँ आयोजनाहरु सुरु गरेको छैन । बरु पूर्व प्रवन्ध निर्देशक राजभण्डारीकै योजनाहरु मात्र अगाडी बढिरहेका छन् । 

कम्पनीले सञ्चालन गरिआएको टुजी थ्रीजी मोबाइल सेवाको नेटवर्कमा करिब ७० करोडको लगानी गरेर काठमाडौंमा ३८९ ओटा र पोखरामा २५ अ‍ेटा  टावर विस्तार गरी २०१७ जनवरी १ मा फोरजी सेवा सञ्चालन गर्ने नीति लिएको थियो । 

डेटा सेवाको गुणस्तर वृद्धि तथा हाई स्पिड डेटाको लागि मुलुकभर फोरजी सेवा विस्तार गर्न प्राविधिक स्पेसिफिकेसन तयार गरी सोको लागत करिब २१ अर्ब रहने अनुमान गरिएको थियो । कम्पनीको आर्थिक विनियम अनुसार उक्त कार्य बोलपत्र मार्फत मात्र गर्न सकिने भएकाले सोही अनुसार कारावाही अगाडी बढिरहेको थियो ।

त्यहीँ बेला हालका प्रवन्ध निर्देशक अधिकारीले उक्त कार्य ६ अर्बमा सम्पन्न गर्न सकिने भन्दै राजभण्डारीले गलत मनसाय राखी ठूलो राक अनियमितता गर्न लागेको भनी विभिन्न अनलाइन पोर्टलहरुमा समाचार सम्प्रेषण गराएका थिए । 

तर पछि आफूले पद बहाल गरेपछि पूर्व प्रबन्ध निर्देशक भण्डारीले तयार गरेको स्पेसिफिकेसनलाई नै निरन्तरता दिई बोलपत्र आह्वान गराई २२ अर्ब रुपैयाँ बराबरको फोरजी आयोजना अगाडी बढाएका थिए । 

मुलुकको ग्रामिण क्षेत्रमा भ्वाइस सेवाको सहज पहुँचको लागि बोलपत्रमा भोल्टे प्रविधि विस्तार गर्ने प्रावधान रहेको थियो । तर उनले उक्त प्रविधि विस्तार गर्नुको सट्टा पुन टुजी प्रविधिलाई विस्तार गर्ने योजना बनाई ह्वावे कम्पनीसँगको सम्झौतामा ७ सय ओटा बीटएिस टावर खरिद गरी सेवा अगाडी बढाएका थिए । 

साथै उनले मुलुकभर दूरसञ्चार सेवा सञ्चालनको मेरुदण्ड ब्याकबोन ट्रान्समिसन नेटवर्कमा भएको समस्यालाई स्थायी समाधान गर्ने निहूँमा उनले अनावश्यक परिमाणमा राउटरहरु खरिद गरेका थिए । जबकी प्राविधिक रुपमा एउटा नोडमा एउटा मात्र राउटर आवश्यक थियो । राउटर अप्टिमाइजेसन गरेर काम गर्न सकिने अवस्थामा एउटै नोडमा राउटर थप गरेर नेटवर्कमा जटिलटा बढाउने काम भएको थियो । 

यसबाहेक कम्पनीको मूख्य स्रोत रहेको अन्तराष्ट्रिय कल सेवामार्फत आर्थिक वर्ष २०७२/०७३ मा विदेशबाट टेलिकमको नेटवर्कमा मासिक ६ करोड ५० लाख मिनेटसम्म कल टर्मिनेट भई वार्षिक ९ अर्ब सम्म राजश्व प्राप्त हुने गरेको थियो । 

हाल मासिक ३ करोडको हाराहारीमा कल टर्मिनेट भई वार्षिक राजस्वमा निकै गिरावट आएको देखिन्छ । यसरी कम्पनीको राजस्व गिरावट हुनुमा अधिकारीले एयरटेल र टाटा जस्ता विदेशी करियर साझेदारहरुसँग स्वयम आफैले मिलेमतो गरेको देखिएको गोप्य स्रोतहरुले बताएका छन् । 

हाल कम्पनीले प्रयोग गरिरहेको विलिङ सिस्टम पनि निकै पुरानो भई नयाँ खरिद गर्नुपर्ने आवश्यकता छ । तीन चार महिना अघि नै विज्ञ प्राविधिकहरुले स्पेसिफिकेसन तयार परिसकेका छन् तर विचौलियाहरुको प्रभावमा सोको खरिद कार्यलाई अधिकारीले अगाडी बढाउन ढिलासुस्ती गरेका छन् ।

अन्तराष्ट्रिय स्तरको सिस्टम खरिदका लागि निर्माणकर्ताले मात्र भाग लिन पाउने गरी स्पेसिफिकेसन तयार भएको छ जसमा अधिकारीले असहमति जनाएको स्रोतले बताएको छ । उनले हाल सिस्टम खरिदका लागि सिस्टम इन्टिग्रेटरले पनि सहभागी हुन पाउने गरी स्पेसिफिकेसन परिमार्जजन गर्न दबाब दिएका छन् । 
 

बुधबार ६ साउन २०७८ ०७:२१ PM मा प्रकाशित

प्रतिक्रिया