बुधबार, साउन १३ २०७८ ०९:३४ AM

×

अर्थतन्त्र उकास्न अझै राहतको प्याकेज आवश्यक, अर्थ र राष्ट्र बैंक ‘वर्क आउट’मा

images

काठमाडौं । कोरोना भाइरसको चपेटमा परेको अर्थतन्त्रलाई माथि उकास्न राहतको प्याकेज ल्याउने तयारी तीव्र भएको छ । पहिलो चरणको कोभिडबाट गम्भीर अवस्थामा पुगेको अर्थतन्त्र दोस्रो चरणको महामारीबाट अर्थतन्त्र झन बिग्रिँदै गएपछि अर्थमन्त्री जनार्दन शर्मा राहतको प्याकेज ल्याउने तयारीमा आफूहरु जुटेको बताए ।

नेपाल उद्योग परिसंघका १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै शर्माले अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको मनोवल उच्च बनाउन पनि राहतको प्याकेज आवश्यक भएको र त्यसका लागि केन्द्रीय बैंक र अर्थमन्त्रालयले तयारी थालेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानलाई देशभर बनाउनका लागि निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । ‘आफ्ना जनतालाई खोप उपलब्ध गराउनु सरकारको दायित्व हो, तर सरकार एक्लैको केही लाग्दैन्,’ कार्यक्रममा देउवाले भने, ‘निजी क्षेत्रले पनि सहयोग गरिदिनु पर्यो ।’

 

कार्यक्रममा नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले निजी क्षेत्रको भूमिकालाई बढी महत्व दिँदै नीतिगत र प्रशासनिक सुधारका कार्यक्रमहरू पनि ल्यायो र त्यसलाई पहिलो पुस्ताको सुधार कार्यक्रमका रुपमा अघि सारियो । यसबाट राष्ट्रको आम्दानीमा उल्लेख्य वृद्धि मात्रै भएन राज्यले सामाजिक क्षेत्रमा लगानी बढाउन पनि सफल भएको बताए ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारद्वारा अघि बढाइएको सार्वजनिक खर्चको पुनरावलोकन र शिक्षा, स्वास्थ्य एवं ग्रामीण विकासमा गरिएको लगानीको फलस्वरुप गरिवी निवारणका साथै सहशताब्दी विकास लक्ष्यको अधिकांश लक्ष्य हासिल गर्दै सामाजिक क्षेत्रमा नेपालले तीव्र प्रगति गर्न सकेको उनको भनाइ छ ।

अहिलेको कठिन बेलामा फेरि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । यसले आमनेपाली जनतासँगै आम उद्योगी, व्यवसायीहरुमा आशाको दियो बलेको छ । २०४६ मा लिइएको नीति र कदमहरुले आर्थिक गतिविधिलाई गतिशील बनाउन जसरी सहयोग पुगेको थियो कोरोना भाइरस संक्रमणका कारण थला परेको अर्थतन्त्रलाई उकास्न त्यस्तै किमिसमका नीति नियमहरु अगाडि सार्नुपर्ने आवश्यकता देखिएको छ ।

कार्यक्रमका सभापति सतिशकुमार मोर र उपाध्यक्ष अनुज अग्रवालले देशको एलसी खोलेर सामान ल्याएर बेच्दैमा देश समृद्ध नबन्ने बताए ।

सीएनआईको अध्यक्षमा विष्णु अग्रवाल

नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा विष्णु अग्रवाल चुनिएका छन् । स्वतः अध्यक्ष हुने प्रावधानअनुरुप वरिष्ठ उपाध्यक्ष अग्रवाल अध्यक्ष भएका हुन् । मोरङ अटो वर्कका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवाल आगामी दुई वर्षका लागि अध्यक्ष भएका हुन् ।

उद्योगीहरुको संगठनको रुपमा चिनिएको सीएनआईले देशभित्र लगानीको वातारण बनाउन नीतिगत सुधारमा काम गरिरहेको हुन्छ । लगानीलाई निरुत्साहित गर्ने कानुन खारेज वा संशोधनमा पनि सीइएनआईको महत्वपूर्ण भूमिका रहन्छ ।

 

बुधबार ६ साउन २०७८ ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया