काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग आवद्ध बैंकको सिष्टम ह्याक गर्ने ह्याकरहरुले धम्की दिएपछि बैंकर त्रसित बनेका छन् । एनसीएचएलसँग आवद्ध डेढ दर्जन भन्दा बढी बैंकको सिष्टम ह्याक गर्ने भन्दै २२ जुलाइसम्मको समयसीमा तोकेर गरेर ह्याकरले इमेल पठाएको छ ।
ह्याकरको इमेल १५ वटा बैंकमा एकसाथ आए पनि ती बैंकका प्रमुख कार्यकारी अधिृकतहरु त्रसित बनेका छन् । साथै उनीहरुले आफ्ना आइटी टिमलाई सचेत रहन पनि भनेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंकहरुलाई ह्याकरले पठाएका इमेल आफूले पनि पाएको र सम्पूर्ण बैंक तथा एनसीएचएललाई सचेत रहन भनेको बताए । ‘त्यो इमेल फेक हुन पनि सक्छ, तैपनि हामीले सबैलाई अर्लट रहन भनेका छौं,’ ढकालले भने, ‘ह्याकरले भोलिसम्मको म्याद दिएको देखिएको छ । तर, त्यो फेक पनि हुन सक्छ ।’
एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार ह्याकरले पठाएको इमेलले सम्पूर्ण बैंकर तनाबमा परेका छन् । तर, उनीहरुले आफ्ना आइटी टीम र एनसीएचएलसँग पनि निरन्तर छलफल गरिरहेको ती बैंकरले बताए ।
अहिले ह्याकरले भारतमा पनि आतङ्क फैल्याइरहेको छ । नेपाली बैंकमा पनि बेला बेलामा ह्याकरले बैंकको सिष्टम ह्याक गरेर पैसा चोरी गर्ने गरेका छन् । त्यही केन्द्रीय बैंकले बैंक तथा एनसीएचएललाई विशेष चासो दिएर बस्न भनेको ढकालले जानकारी दिए । ह्याकरले १५ वटा बैंकलाई सिष्टम ह्याक गर्ने भन्दै इमेल पठाएको हो ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले इमेलको कुनै अथेन्टिकेसन नभएको बताए । यद्यपि, सेक्युरिटीसँग सम्बन्धीत भएकाले एनसीएचएलले विशेष निगरानी बढाएको बताए । बैंकले आफ्नोतर्फबाट पनि विशेष निगरानी बढाएका छन् भने हाम्रोतर्फबाट पनि उच्च निगरानी बढाइएको बताए ।