बीबीसी । युरोपमा कोरोना भाइरस सङ्क्रमण फेरी बढ्न थालेको छ । कोरोना संक्रमण बढेपछि नयाँ लहर आउने बारेमा चिन्ता व्यक्त गर्न थालिएको छ ।
अहिले जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र वेलायतमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेको छ । कोरोना संक्रमण दर बढ्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको छ।
कोरानो संक्रमण वृद्धि भएपछि अस्ट्रियाले सोमबारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ । लकडाउन २० दिनसम्म रहने छ । अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ।
अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ। त्यहाँ कमैले मात्रै खोप लगाएका छन्। “हामी पाँचौँ लहर चाहँदैनौँ,” चान्सलर एलेक्सजान्डर स्यालेन्बर्गले नौ प्रान्तका गभर्नरहरूसँगको छलफलपछि भनेका छन् ।
अस्ट्रियामा अहिले प्रति १ लाख जनसङ्ख्यामा १०५० जनाको दरले सङ्क्रमण भएको त्यहाँको सरकारी तथ्याँक छ । ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा शुक्रबार मात्रै करिव १६०० हजार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
लकडाउनमा अस्ट्रियाली नागरिकहरूलाई घरबाट काम गर्न भनिएको छ भने अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन्।अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन्।
जर्मनीमा बढ्दो सङ्क्रमण
जर्मनीमा भने गएको साता दैनिक अत्यधिक सङ्क्रमण देखिएको छ। स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई “एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल” भनेका छन्। यसको नतिजा स्वरूप जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ।
अस्पताल भर्ना धेरै भएका स्थानमा खोप नलगाएका व्यक्तिहरूलाई प्रतिबन्धहरू लगाउन चान्सलर एङ्गेला मेर्कल र जर्मनीका १६ प्रान्तका नेताहरू सहमत भएका छन्।
नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानहरूमा प्रवेश निषेध गरिने छ।
जर्मनीमा बिहीबार थप ६५ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन महामारी सुरु भएयताकै सबैभन्दा ठूलो दैनिक सङ्क्रमण हो।
शुक्रबार नेदरल्यान्ड्सको प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्धविरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीहरूले ढुङ्गा मुढा गर्नुका साथै प्रहरीका गाडीमा आगजनी गरेका थिए। कोभिड खोप पासको सरकारी योजनाको र नयाँ वर्षमा पटाका निषेध गर्ने निर्णयको विरोधमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका हुन्।
महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिबार नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन लागु गरेको छ। रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेशनहरू बन्द गरिएका छन्। हेगमा पनि विरोध भएका छन्।