काठमाडौं । लोडसेडिङ हटाउन भारतबाट ठूलो परिमाणमा बिजुली आयात गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्ष त्रिशूली देवीघाट र चिलिमे आयोजनाको ३९ मेगावाट बिजुली भारतमा निर्यात गरेको थियो ।
गत आर्थिक वर्ष भारतको ऊर्जा मन्त्रालयले ३६४ मेगावाट बिजुली निर्यातको अनुमति दिएको छ । अहिले बढी भएको बिजुली भारतमा निर्यात भइरहेको छ । बिजुली निर्यातको ग्राफ आउँदो ४ वर्षमा ५ गुणाले बढ्ने प्रक्षेपण विद्युत् प्राधिकरणले गरेको छ ।
प्राधिकरणका अनुसार आउँदो ४ वर्ष (आर्थिक वर्ष ०८२/०८३) मा भारतमा बिजुली निकासी बढेर २४५६ मेगावाट पुग्ने प्रक्षेपण विद्युत् प्राधिकरणले गरेको छ । आन्तरिक उत्पादन बढ्ने अनुमानका आधारमा प्राधिकरणले सो प्रक्षेपण गरेको हो ।
भारतले ३६४ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति दिएको छ । भारतले निर्यात परिमाण बढाउन स्वीकृति नदिएमा वर्षातमा बढी भएको बिजुली खेर जानेछ ।
विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार आगामी बर्खामा ६१३ मेगावाट बढी भई भारतमा निर्यात हुन सक्ने अनुमान छ । यस्तै आगामी वर्ष बर्खामा बढेर १२९६ मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ ।
यस्तै आर्थिक वर्ष ०८१/०८२ मा १८३१ र ०८२/०८३ मा २४५६ मेगावाट बिजुली निर्यात गर्न सकिने देखिएको हो । प्रस्ताव गरिएका जलविद्युत् आयोजनाहरु समयमै सम्पन्न भएमा मात्र यो सम्भव हुने देखिएको प्राधिकरणले जनाएको छ ।
प्राकृतिक विपत्ति, महामारीलगायत विभिन्न कारणहरुले आयोजना निर्धारित समयमा सम्पन्न नभएकाले लक्ष्य प्रभावित हुनेछ । यस्तै बिजुलीको माग बढ्दै गएको अवस्थामा निर्यात गर्न नपर्ने अवस्था आउनेमा सचेत रहेको प्राधिकरणले जनाएको छ । हाल बिजुलीको माग औसत १७०० मेगावाट पुगेको छ ।
डिसेम्बर १५ सम्म नेपालबाट बिजुली निर्यात हुने प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको वहाव घट्दै गएपछि उत्पादनमा गिरावट आई भारतबाट आयात गर्नुपर्ने अवस्था आउने बताइएको छ । आर्थिक वर्ष ०८२/०८३ देखि भारतबाट सुक्खायाममा पनि बिजुली आयात बन्द हुने अनुमान प्राधिकरणको छ ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको सुक्खायाममा २४९ मेगावाट बिजुली भारतबाट बिजुली आयात हुने देखिएको छ । यद्यपि आयातको परिमाण निरन्तर घट्दै जानेछ । जसअनुसार आर्थिक वर्ष ०८०/०८१ मा १५७, ०८१/०८२ मा १०३ र ०८२/०८३ मा आयात बन्द हुने अनुमान प्राधिकरणको छ ।
हाल विद्युतको कुल जडित क्षमता बढेर २१९० मेगावाट पुगेको छ । चालू आर्थिक वर्षमा ७१५ मेगावाट थप भई ३ हजार मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ ।
हाल ३२८९ मेगावाट क्षमताका आयोजनाहरु निर्माणधिन अस्थामा छन् । यस्तै १५५३ मेगावाट क्षमताका आयोजनाहरु विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणको तयारीमा रहेका समेत गरी २७ हजार ७८० मेगावाट क्षमताका आयोजना अघि बढेका छन् ।
भारतको एसजेवीएन लिमिटेडले २०७९ मेगावाट क्षमताका ३ वटा आयोजना पाएको छ । जसमध्ये ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको काम ६५ प्रतिशत सकिएको छ ।
यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र विद्युत् उत्पादन कम्पनी लिमिटेडले संयुक्त रुपमा २०३२ मेगावाटका आयोजना अघि बढाएका छन् । यस्तै लगानी बोर्डमार्फत ४९५० मेगावाट रहेको छ ।