काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रलाई पुनस्र्थापित गर्नका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलले आर्थिक गतिविधिलाई विस्तार गर्ने सम्बन्धमा दिएको सुझावका क्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न विभिन्न सुझावसहित कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए । साथै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्रै आर्थिक विकास तथा रोजगारीमा वृद्धि हुने उनको भनाइ छ ।
आर्थिक विकास र रोजगारीमा वृद्धिले अर्थतन्त्रमा योगदान पुग्ने भएकाले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्यूनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँस्तरका चेम्बरहरु, उद्योगी तथा व्यवसायी र उद्योग तथा यातायात क्षेत्रका मजदुरलाई उपलब्ध गराउन आग्रह गरेका छन् ।
त्यस्तै अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । सुझावअनुसार, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा विचाराधीन आर्थिक विधेयकहरु पारित गरिनुपर्ने बताइएको छ ।
साथै आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्यवस्थापन गर्न समेत चेम्बरको टोलीले सुझाव दिएको छ । त्यस्तै बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिकाअनुसार खर्च गर्न, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याउन चेम्बरले आग्रह गरेको छ ।
निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिन, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रम ल्याउन, लगानीको स्रोतको वैधतामा सरलीकरण गर्न, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न आग्रह गरेका छन् ।
सुभाव लिएपछि प्रधानमन्त्रीले पछिल्लो समय अर्थतन्त्रमा चुनौती देखिएकाले सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्बोधन गर्न सकिने बताएका छन् । कोभिड–१९ को खोपसम्बन्धी नेपाल चेम्बर अफ कमर्सको मागमा सरकार संवेदनशील रहेको उनले बताए । साथै निकट भविष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताउदै प्रधामन्त्रीले चेम्बरको माग सम्बोधन गर्ने बताएका छन् ।
चेम्बरका अध्यक्ष मल्लको नेतृत्वमा अन्य पदाधिकारी तथा सदस्यको टोलीले मंगलबार प्रधानमन्त्रसँग भेटवार्ता गरेको हो । भेटमा चेम्बरले गणतन्त्र नेपालको प्रधानमन्त्री भएकोमा बधाई तथा सफल कार्यकालका लागि शुभकामनासमेत दिएको छ ।
सुझाव दिन चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्बरका सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति थियो ।