बुधबार, साउन १३ २०७८ ०९:४७ AM

×

कोभिडको सिकार बनेका एयरलाइन्स र होटलले तिर्न थाले बैंकको ऋण

images

काठमाडौं । कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित बनेको एयरलाइन्स र होटल क्षेत्रबाट साँवा ब्याज उठ्न थालेको छ । सरकारले हवाई उडान सुचारु गरेसँगै व्यवसाय विस्तार भएपछि बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज भुक्तानी हुन थालेको बैंकहरुले बताएका छन् ।

यद्यपि, होटल व्यवसाय पनि फस्टाउन सकेको छैन । खासगरी ठूलो लगानीमा सञ्चालित होटलहरुको व्यवसाय अहिले पनि शून्य प्रायः छ । तैपनि उनीहरुले अन्यत्रबाट कमाएको पैसाले बैंकको ब्याज तथा साँवा भुक्तानी गरिरहेको देखिएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको क्षेत्र यातायात हो । त्यो क्षेत्रबाट हुनुपर्ने भुक्तानी शून्यमा झरेको बैंकरहरु बताउँछन् । त्यसपछिको सबैभन्दा बढी असर हवाई क्षेत्र र होटल व्यवसायमा परेको थियो । तीन क्षेत्रमध्ये दुई क्षेत्रबाट हुने रिकभरी विस्तारै हुन थालेको बैंकरहरुको भनाइ छ ।

गत वर्ष हवाई क्षेत्र, होटल व्यवसाय र यातायात क्षेत्रबाट कुनै प्रकारको साँवा ब्याज भुक्तानी हुन सकेको थिए । तर, दोस्रो चरणको कोरोनाको लहरमै सरकारले सुरक्षा मापदण्ड अपनाएर हवाई क्षेत्रलाई उडान सुरु गर्न दिएपछि त्यसले अर्थतन्त्रको विभिन्न पक्षलाई सकारात्मक असर पारेको हो ।

‘दुई क्षेत्रबाट भुक्तानी हुन थाले पनि बैंकको नाफामै सुधार आउँछ भने अर्कोतिर यदि त्यो पैसा नउठेको भए प्रोभिजनिङ गर्नुपर्ने अवस्था हुन्थ्यो,’ एक बैंकरले भने, ‘होटल तथा हवाई क्षेत्रले तिर्नुपर्ने साँवा ब्याज तिर्ने बित्तिकै बैंकको नाफा बढ्ने र लगानीकर्ताले बढी प्रतिफल पाउने सम्भावना हुन्छ ।’

बैंकरका अनुसार अहिले धेरै क्षेत्रबाट ऋण उठ्तीमा सुधार भएको छ । गत वर्षको तुलनामा साँवा ब्याज भुक्तानी धेरै भएको उनीहरु बताउँछन् । तर, अहिले पनि यातायात क्षेत्रले भने भुक्तानीलाई नियमित गर्न सकेको छैन ।

 

मङ्गलबार ५ साउन २०७८ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया