काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैंठकमा उपस्थित हुने वातावरण नभएको भन्दै तीन जना सञ्चालकहरुले फरक मत( नोट अफ डिसेन्ट) लेखेका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बिहिबार राखेको सञ्चालक समितिमा उपस्थित हुन पुगेका तीन जना सञ्चालकहरु केन्द्रिय कार्यालयमा पुगेर फर्किएका छन् ।
बैंठकमा बोलाएर मुल गेटमा महाप्रवन्धक डिमप्रकाश पौडेलसहित सञ्चालक समितिका सदस्यहरुलाई प्रवेश निषेध गरिएको ब्यानर राखेको देखेपछि बैंठकमा प्रवेश नै नगरी नोट अफ डिसेन्टको पत्र पठाएर फर्किएका हुन् । अध्यक्ष अधिकारीले आफुहरुलाई बैंठकमा बोलाएर बेइजत गरेको र उचित वातावरण नै बनाउन नसकेको ती सञ्चालकको भनाई छ ।
निगमका कर्मचारीहरुले कम्पनी मोडलमा लैजाने प्रस्तावमा हस्ताक्षर गर्ने सञ्चालकहरुलाई हटाउन माग गर्दै आइरहेका छन् । तर, कम्पनी मोडलमा लैजाने मस्यौदा बनाउने संयोजक किशोर प्रधान भने बैंठकमा उपस्थित भएका छन् ।
कार्यकारी अध्यक्ष अधिकारीले नै उनलाई बैंठकमा बोलाएको स्रोतको दाबी छ । अध्यक्ष अधिकारीले अहिले प्रधान बाहेकका अन्य सदस्यहरुलाई हटाउने आन्तरिक तयारी गरिरहेको बेला बिहिबार बैंठक बसेको हो ।
नोट अफ डिसेन्टमा निगमको मुलगेटमा राखिएको ब्यानर कार्यकारी अध्यक्ष अधिकारीले नै खर्च गरेर राख्न लगाएको र कार्यालयमा प्रवेश गर्न खोजे कर्मचारीहरुलाई अवरोध गर्न निर्देशन समेत दिएको जानकारी आफुहरु पाएकोले बिचबाटै फर्किएको उल्लेख छ ।
बैंठकमा सहभागि हुन सञ्चालकहरु महाप्रबन्धक पौडेल,ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पा रहेका छन् ।
अहिले सञ्चालक समितिको बैंठक भने चलिरहेको छ । बैंठकमा प्रधान सहित पर्यटन र अर्थमन्त्रालयका प्रतिनिधिहरु सहभागि छन् ।