काठमाडौं। चालू आर्थिक वर्षको तीन महिना सकिँदा राजस्वमा मुख्य योगदान हुने आयकर र मूल्य अभिवृद्धिक कर भ्याटको योगदान घटेको छ। आन्तरिक राजस्व विभागले लिएको लक्ष्यभन्दा यी शीर्षकमा निकै कम राजस्व संकलन भएका छन्।
असोज महिनामा आन्तरिक राजस्व विभागले २९ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। सो लक्ष्यमा ९३.८२ प्रतिशत मात्रै प्रगति भएको छ। यो महिना २७ अर्ब ७९ करोड मात्रै संकलन भएको छ।
दसैंमा धेरै सामग्रीहरुको खरिदबिक्री हुने भएकाले असोज महिनामा लक्ष्य प्राप्ति हुने विभागको अनुमान थियो। यो महिना अन्तःशुल्कमा भने लक्ष्यको १ सय १६ प्रतिशत मात्रै प्रगति भएको छ। चाडबाडको महिना बिक्री अत्यधिक हुने भन्दै व्यवसायीहरुले धेरै मदिरा बजार पठाउने गर्छन्।
यो महिना अन्तःशुल्क शीर्षकमा ७ अर्ब १२ करोड राजस्व संकलनको लक्ष्य राखिएको छ। जसमा ८ अर्ब ६१ करोड संकलन भएको छ। यो लक्ष्यमा १ सय २० प्रतिशत प्रगति हो। चालू वर्ष चुरोट तथा मदिरामा करको दर बढाइएको छ। यसकारण पनि यो शीर्षकमा कुल तीन महिनामा २६ अर्ब २१ करोड संकलन भइसकेको छ।
आयकरमा भने लक्ष्यको निकै मात्रै संकलन भइरहेको छ। यो शीर्षकमा ११ अर्ब ४३ करोड संकलन गर्ने लक्ष्य लिइएकोमा ९ अर्ब २० करोड मात्रै संकलन भएको छ। भ्याट संकलनमा पनि लक्ष्यको ८८.८५ प्रतिशत मात्रै संकलन भएको छ। ९ अर्ब ७ करोड राजस्व संकलन गर्ने लक्ष्यमा असोजमा ८ अर्ब ६ करोड मात्रै कर संकलन भएको छ।
यसैगरी घरबहाल कर २० करोड लक्ष्यमा ११ करोड संकलन भएको छ। १ अर्ब ३५ करोड ब्याजकर उठाउने लक्ष्यमा १ अर्ब २१ करोड संकलन भएको छ। स्वास्थ्य सेवा करमा असोजमा ३० करोड संकलन गर्ने लक्ष्यमा ४७ करोड संकलन भएको छ।
पहिलो त्रैमासमा विभागले लक्ष्यको ९०.९६ प्रतिशत प्रगति गरेको छ। जसअनुसार १ खर्ब ५ अर्ब संकलन लक्ष्यमा ९५ अर्ब ७१ करोड संकलन भएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले असोज महिनाको अन्त्यसम्म कुल प्राप्ति २ खर्ब ३२ अर्ब रहेको छ। जसमा सबै भन्दा धेरै राजस्व शीर्षकमा २ खर्ब ८ अर्ब संकलन गरेको छ। यस्तै अन्य शीर्षकमा २२ अर्ब ७४ करोड संकलन भएको छ। अनुदान शीर्षकमा ७ अर्ब ९ करोड संकलन भएको छ। खर्चतर्फ भने २ खर्ब ७८ अर्ब खर्च भएको छ।
सबैभन्दा धेरै खर्च चालु शीर्षकमा भएको छ। २ खर्ब २३ अर्ब खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ ३४ अर्ब ७४ करोड संकलन भएको छ।