काठमाडौं । अन्ततः सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) वियरिस ट्रेन्डमा प्रवेश गरेको संकेत गरेको छ । उच्च विन्दुबाट २ महिनामा २२.४ (३१९८.६ बाट २४८२.४७ विन्दुमा) प्रतिशतले खसेको सेयर बजार कहिले उकालो लाग्ला भन्दै लगानीकर्ता आत्तिएका छन् । सामान्यतयाः २ महिनामा २० प्रतिशतभन्दा बढीले बजार सूचक घटेको खण्डमा सेयर बजार ‘वियरिस’ भएको मानिने अन्तर्राष्ट्रिय प्रचलन छ ।
यस्तो वियरिस बजार उठ्न कम्तीमा ६ महिना लाग्ने विश्वास गरिन्छ । नेपालको अहिलेको बजार रणनीति हेर्दा आगामी ६ महिना नभई नेप्सेले पहिलेको उच्च विन्दु पछ्याउने छाँट देखिँदैन ।
गत भदौ २ गते ३१९८.६ प्रतिशतमा रहेको नेप्से २ गते कारोबार सुरु भएको २ घण्टा ३७ मिनेटमा घट्दो क्रमको न्यून विन्दु २४८२.४७ अंकमा पुगेको छ । त्यसपछि भने बजारमा केही सुधारको संकेत गरेपछि सोमबारको तुलनामा ७७.३३ अंकले घटेर २५१०.७३ अंकमा कारोबार रोकिएको छ । अन्तिम समयमा बढेको सन्दर्भले भोलिपल्ट बजार बढ्ने यसअघिको ट्रेन्डलाई नेप्से कारोबारले पछ्याउन छोडेको छ । सोमबार पनि अन्तिम समयमा केही बढ्ने संकेत गरेको थियो । तर, मंगलबार कारोबार सुरु भएदेखि नै बजार घट्न थाल्यो ।
मंगलबारको न्यून विन्दु उच्च विन्दुबाट करिब २२.४ प्रतिशत अर्थात ७१६ अंकले कम हो । यसअघि असोज १८ गते २५४२ विन्दुसम्म झरेको सूचक त्यसको दुई साता नपुग्दै पुरानो न्यून विन्दुलाई छोडेर तल झरेको हो ।
सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गर्ने क्रम जारी रहेका बेला कम्पनीहरूको सेयर मूल्य भने निरन्तर ओरालो लागेको छ । खासगरि केन्द्रीय बैंकले चालू वर्षको मौद्रिक नीतिमार्फत प्रतिव्यक्ति सेयर धितोमा प्रतिसंस्था ४ करोड र वित्तीय प्रणालीबाट १२ करोड कर्जा सीमा तोकेकामा निर्देशन दिँदा एकल ग्राहक कर्जा सीमा बनाएपछि लगानीकर्ता त्यसको विरोधमा छन् ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमा पुँजी कर्जा निक्षेप (सीसीडी) अनुपातलाई हटाएर कर्जा निक्षेप (सीडी) अनुपात कार्यान्वयनमा ल्याएपछि वित्तीय संस्थाहरूको लगानी क्षमता कमजोर भएर वित्तीय बजारमा तरलता अभावको स्थिति देखियो । कतिपय वित्तीय संस्थालाई सीडी व्यवस्थापनमै समस्या आएपछि व्याजदर बढाउने दबाब सिर्जना भयो । निक्षेपको व्याजदर बढ्दा वित्तीय संस्थाको व्याजदरको आधार दर बढ्न जाने र आगामी दिनमा कर्जाको व्याजदर पनि बढ्ने डर लगानीकर्तामा छ ।
त्यसैको असर कतिपयले असोजमा र कतिपयले कात्तिक १ देखि लागू हुने गरी निक्षेपको व्याजदर बढाए । यसले बजारमा नकारात्मक असर पारेकै छ । यद्यपी एकल अंकको ब्याजदरमा लगानीकर्ता आत्तिनुपर्ने अवस्था भने होइन ।
अर्कोतिर सूचीकृत कम्पनीहरूले लाभांश घोषणामा लगानीकर्ता उच्च मनोकांक्षालाई सम्बोधन गर्न नसकेको असर पनि सेयर बजारमा परेका छ । कतिपय कम्पनीले लगानीकर्ताको मनोभाव र कम्पनीको अवस्थाभन्दा फरक ढंगले लाभांश घोषणा गरेपछि लगानीकर्ता थप दबाबमा परेका हुन् । त्यस्तै कम्पनीहरूले धमाधम साधारणसभा आयोजना गर्दैछन् ।
साधारणसभा अघि लाभांश वितरणका लागि ‘बुक क्लोज’ हुने र त्यसले मूल्य समायोजन गर्दा कम्पनीहरूको सेयर मूल्य थप गिरावट आउँछ । जसको प्रत्यक्ष असर नेप्से सूचकमा पनि देखिन्छ । त्यति मात्रै होइन कतिपय नियामकहरूले हकप्रद सेयर जारी गर्न कडाइ गर्दा हकप्रदको लोभमा बसेका लगानीकर्ता निरास देखिँदाको प्रभाव पनि सेयर बजारमा परेको छ ।
पछिल्लो समय समग्र अर्थतन्त्र चलायमान हुन खोजेकाले उच्च विन्दुमा बजारबाट बाहिरिएका लगानीकर्ता अन्य क्षेत्रमा प्रवेश गरेको अनुमान छ । अर्कोतिर निरन्तर बजार घटेकाले लगानीकर्तामा मनोबैज्ञानिक त्रास सिर्जना हुँदा अझै घट्ने दबाबमा सेयर बेचेर बाहिरिने क्रम बढेको छ । यसले बजार घटाउन झनै मद्दत गरेको छ ।
निरन्तर बजार घट्दै गएको स्थितिलाई अन्त्य गर्न सबैभन्दा पहिला लगानीकर्ताको मनोबल उकास्नुपर्छ । त्यसका लागि जहाँबाट मनोवैज्ञानिक त्रास सिर्जना गरिएको थियो, त्यहीँबाट उपचार सुरु गर्नुपर्छ । खासगरि मौद्रिक नीतिको व्यवस्थालाई थप सुदृढ र परिस्कृत बनाउनुपर्छ । सरकारी तबरबाट आश्वस्त सूचना प्रवाहित गर्नुपर्छ । यद्यपि विगतमा बजार बिना आधार जसरी बढेको थियो, त्यही लयमा बिना आधार नै घटिरहेको छ ।
अहिलेकै अवस्थाबाट बजार माथि उठ्न ६ महिनाको अवधि लाग्न सक्छ । किनभने अब कम्पनीहरूको लाभांश आएसँग उनीहरूको मूल्य समायोजना हुँदा स्भाविक रूपमा त्यसको असर बजारमा पर्छ । अर्कोतिर चालू वर्षको लाभांश लिइसकेपछि लिइने सेयले करीव एक वर्षसम्म कुनै लाभांंस नदिने भएकाले थारो पाल्नुपर्छ । यस्तो स्थितिमा लगानीकर्ता सचेततापूर्वक सेयर खरिद बिक्रीमा संलग्न हुन्छन् । तर, कतिपय लगानीकर्ता र विश्लेषकहरूले बजार अझै घट्ने र २२०० विन्दुलाई छोएर फर्किने बताई रहेकाले सचेततापूर्वक लगानी गर्नु लगानीकर्ताका लागि हितकर हुन्छ ।
मंगलबार १७८ कम्पनीका लगानीकर्ताले गुमाउँदा ७ कम्पनीकाले भने कमाएका छन् । माहुली सामुदायिक लघुवित्तको सेयर मूल्य ४.४९ प्रतिशतले बढ्दा नेपाल हाइड्रो डेभलपर्सको ९.७७ प्रतिशतले बढेको छ । उच्च १० मूल्य गुमाउनेमध्ये ८ वटा जलविद्युत कम्पनी छन् । उता, मंगलबार ३ अर्ब ७७ करोड ७७ ला रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
यो सोमबार र आइतबारको भन्दा बढी हो । सोमबार २ अर्ब ९६ करोड रुपैयाँबराबरको सेयर किनभने भएकोमा आइतबार १ अर्ब ४९ करोडमा सीमित भएको थियो । उता, मंगलबार सबैभन्दा धेरै कारोबार नबिल बैंकको ११ करोड १२ लाख ९५ हजार रुपैयाँ छ ।