काठमाडौं । मिजासिला, परोपकारी र हँसिलो अनुहार । रमेश महर्जनसँग सधैं रहने गुण थियो । तर, यही गुण सम्झाउने गरी सोमबार उनी सधैंलाई अस्ताए ।
नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष महर्जनलाई कोभिड संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा उपचारको क्रममै निधन भयो ।
आरबी डायमण्डका प्रबन्ध निर्देशक ५६ वर्षीय महर्जन सुनचाँदी र रत्नलगायतका आभूषणका लागि नीतिगत रूपमा मुद्दा उठान गरेर सरकारलाई सुझाव दिँदै झकझकाउने गरिरहन्थे ।
नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन निर्यातको सहजीकरणका लागि उनी अन्तिमसम्म सरकारका सबै सरोकारवालाहरुसँग छलफलमा जुटे, ध्यानाकर्षण गराए, ज्ञापनपत्र बुझाइरहे । नेपालमा रहेका रत्न तथा पत्थरलाई निकासी गर्न सकेमा मुलुकको अर्थतन्त्र बलियो बन्ने भन्दै महर्जनले व्यवस्थित रूपमा उत्खनन र निकासीका लागि जुन सरकार आए पनि सुझाव दिइरहन्थे ।
महर्जनसँग नीतिगत काम गरेका नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य भन्छन्, ‘उहाँले सुनचाँदी तथा रत्न आभूषणका व्यवसाय सुधारमा मिहिन ढंगले काम गर्नुभयो ।’
चाडपर्वको बेला सुन आयातको कोटा बढाउन तत्काल पहल गर्ने, अनावश्यक र अव्यवस्थित अनुगमन गरेर व्यवसायीलाई दुःख दिने परिपाटीलाई व्यवस्थित अनुगमनका लागि पहल गर्ने काममा पनि महर्जन लागेको शाक्य बताउँछन् ।
‘हामी मिलेर यो व्यवसायमा सुधारका काम गर्यौं, नेपाल जेम एन्ड ज्वेलरी काउन्सिल बनाएर कार्यकर्ताको प्रयास भैरहेको थियो, यसको अध्यक्ष पनि उहाँ नै हुनुहुन्थ्यो,’ उनले भने ।
सुरुदेखि नै सुनचाँदी निर्देशिका बनाउनका लागि महर्जनजीको ठूलो भूमिका छ, यो जारी हुने बेला जहिले सरकार पन्छिने काम गरेको छ, तर उनको मिहिनेतले निर्देशिका बनेर सरकारी निकायमै रहेको शाक्य बताउँछन् ।
नेपाल सुनचाँदी रत्न आभूषण महासंघका पूर्वअध्यक्ष सुरेशमान श्रेष्ठले नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि महर्जनजी योजना बनाएर सरकारलाई सुझाव दिएको विषय महत्वपूर्ण भएको बताउँछन् । ‘महर्जनजीको कार्यकालमा भारत, श्रीलंका, दुबईमा नेपाली गरगहनाको प्रदर्शन र हस्तकला सीपको आदान प्रदानले ठूलो अर्थ राखेको छ,’ उनले भने ‘उहाँ आफैंको अमेरिका र अष्ट्रेलियामा नेपाली गहनाको सोरुम छ ।’
‘उहाँ यो व्यवसायमा लागेको २५ वर्ष भयो । तर, उहाँको अनुभव र काम गर्ने शैलीले सारा व्यवसायीलाई सजिलो भयो, रमेश यो व्यवासयमा धेरै आइडिया भएको व्यक्ति हो,’ श्रेष्ठ बताउँछन् ।
सुनचाँदी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन निर्देशिका बनाउन महर्जनले निरन्तर लागेका थिए । उनी भन्थे, सुनचाँदी, हिरालगातयत अन्य सबै बहुमूल्य धातुको कारोबार, गुणस्तरीयता, आयात, निर्यात, प्रयोगशाला निर्माणका लागि ठोस नीति हुनका लागि निर्देशिका जरुरी छ । तर, उनको पहलमा पाँच वर्षअघि निर्देशिका बने पनि त्यो सरकारले जारी गरेको छैन ।
महर्जनले स्वदेशी रत्न पत्थरको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न संघसंस्थासँग साझेदारी सुरु गरिसकेका थिए । सुनको आयात तथा बिक्री वितरणमा एकात्मक प्रणाली खारेज गरेर प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई पनि सामेल गराउनका लागि सरकारसँग उनको निरन्तर लबिङ्ग थियो ।
बहुमूल्य गहनाको निर्यातमा आफ्नै एचएस कोड राख्नका लागि उनले पहल थालेका थिए । नेपाली मौलिक बहुमूल्य गहनाको निर्यात प्रवर्द्धनका कच्चा पदार्थमा लाग्ने भन्सार महसुल फिर्ताको माग उनले जोडदार उठाइरहेका थिए । उनी जति व्यवसायिक सुधारमा लागेका थिए त्यति नै सामाजिक र राजनीतिक काममा पनि सक्रिय थिए ।
उनले २०७२ सालको महाभूकम्पपछि ध्वस्त भएको पाटनको पिलाछेंलाई नेवाः वास्तुकलामा आधारित पिलाछें पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत १०० घरहरुको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गरेर निर्माण गरिरहेका थिए ।
२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनले ललितपुर महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा समेत गरेका थिए ।