काठमाडौं । भैरहवाका उद्योगपति राजेशकुमार अग्रवाललाई सरकारले सुप्रवल जनसेवाश्रीबाट सम्मानित भएका छन् । रोजगारी सिर्जना, देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेबापत उनलाई सरकारले उक्त पदकबाट सम्मान गर्न लागेको हो ।
आधा दर्जन उद्योग स्थापना गरेका उद्योगी अग्रवाल भैरहवा स्थायी ठेगाना हो । यद्यपि उनी काठमाडौं आएका बेला थापाथली बस्छन् । त्यही भएर सरकारलाई उनले थापाथलीको ठेगाना उपलब्ध गराएका हुन् । सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका अग्रवाल उत्पादनमुलक उद्याेगमा मात्रै संग्लन छन् ।
संविधान दिवसको अवसरमा सरकारले विभिन्न ६० भन्दा बढी उद्योगी व्यवसायीलाई मानपद्वी, अलंकार र पदकद्धारा विभुषित गरेको हो । उक्त सूचीमा भैरहवाका अग्रवालको नाम छ ।
गृहमन्त्री बालकृष्ण खाँडका स्वकीय सचिव वृजेश न्यौपानेका अनुसार धेरै उद्योगी व्यवसायीको नाम राजेश कुमार अग्रवाल भए पनि यस पटक सम्मानित हुनेमा भैरहवाका उद्योगी भएको बताए । ‘अर्घाखाँची, सिद्धार्थ, श्री स्टिल, एसियन कंक्रिटाे, मिलानाे सूज, खाद्यान्न उद्याेगलगायतमा उनको लगानी छ’ न्यौपानेले भने ।
देशको अर्थतन्त्र दरिलो बनाउन, आत्मनिर्भर मुलुक बनाउन देशभित्रै रोजगारी सिर्जना गर्न देशमै उद्योग लगाएमात्रै सम्भव हुन्छ भन्ने मान्यता अग्रवालको छ । राज्यले उद्योगमैत्री नीतिको अनुशरण गर्नुपर्छ । यहाँबाट निर्यातका लागि सरकारको पहलकदमी आवश्यक रहेको उनले बारम्बार बताउँदै आएका छन् । केही समय अघि मात्रै अग्रवालकाे लगानी रहेकाे श्री स्टिलले भारतमा रड निकासी गरेकाे थियाे ।