×

चरिकोटमा होटल छ, पर्यटक छैनन्

images

चरिकोट। धार्मिक पर्यटन गन्तव्य दोलखा यतिबेला सुनसान छ। आगामी मंसिर ४ लाई तोकिएको संसदीय चुनावी माहोलले बजारका चिया पसलमा केही चहलपहल बढे पनि पर्यटक आगामन भने शून्यजस्तै भएको छ। 

संघीय राजधानी काठमाडौंबाट १ सय ३३ किलोमिटर दूरीमा रहेको दोलखा सदरमुकाम चरिकोट धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिन्छ। विशेषगरी दोलखा भीमेश्वर, कालिञ्चोक, चरिघ्याङ गुम्बा, शैलुङ, जिरी, हनुमन्तेडाँडा धार्मिक पर्यटन गन्तव्य हुन्। 

माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई जलपर्यटनका रूपमा विकास गर्न सकिन्छ। केही वर्ष अघिसम्म ती गन्तव्य घुम्न आउने पर्यटकको घुइँचो दोलखामा थेगिनसक्नु हुन्थ्यो।  

जसका कारण सदरमुकाम चरिकोटसहित आसपास सुविधासम्पन्न होटल निर्माण भए। अझ चरिकोट बन्ने अधिकांश नयाँ घरलाई होटलका रूपमा पनि प्रयोग गरियो। विषेश गरेर आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने दोलखामा पछिल्लो समय  पर्यटक चहलपहल घटेको छ। अहिले पर्यटक हत्तपत्त चरिकोट बस्न रुचाउँदैनन्। 

चरिकोटमा एक वर्षअघि सञ्चालनमा आएको दुईतारे होटल एम्ब्रोसियाका सञ्चालक दिनेश बस्नेतले सुविधासम्पन्न होटल हुँदाहुँदै पर्यटकको चरिकोट बसाइ पातलो हुँदै गएको बताए। कतिपय पर्यटक काठमाडौंबाट बिहानै दोलखा भीमेश्वर मन्दिर दर्शन गरी बेलुका फर्कने र कालिञ्चोक मन्दिर जाने उतै बस्ने गरेको बस्नेतको भनाइ छ।

यद्यपि, पछिल्लो समय सुविधासम्पन्न होटल खोज्नेको रोजाइमा बस्नेतको होटल पर्न थालेको छ। दोलखामा पहिलोपटक दुईतारे स्तरको होटल सञ्चालनमा आएपछि पनि केही पर्यटक बास बस्न थालेको व्यवसायीहरूको भनाइ छ।

होटल संगम प्यालेसका सञ्चालक सुर्दशन कार्कीले पहिलाको दाँजोमा होटलहरू सुस्ताएको बताए। पर्यटक आगमनमात्र नभई विभिन्न संघसस्थाले गर्ने कार्यक्रमसमेत घटेको उनको भनाइ छ। विषेशगरी स्थानीय तह केन्द्रित भएपछि संघसस्था पनि सदरमुकाम आउन छाडेको उनले बताए।

होटल तथा पर्यटन व्यवसायी संघ दोलखाका अध्यक्ष विष्णु थापाले कोभिड महामारीको प्रभाव दोलखाका होटलमा अहिले पनि परिरहेको जानकारी दिए। 

उनका अनुसार दोलखामा १ सयभन्दा बढी होटल छन्। तीमध्ये संघमा ८१  होटल दर्ता छन्।  एउटा सामान्य होटलमा समेत ४५ लाख रुपैयाँभन्दा बढी लगानी भएको बताउँदै समग्र जग्गा र होटलसहित करिब १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उनको भनाइ छ। 

‘लगानी हिसाबले ठूलो रकम खर्च भए पनि पर्यटक आगमन कम हुँदा जोखिम बढ्दै गएको छ,’ थापाले क्यापिटल नेपालसँग भने।  पछिल्लो समय चरिकोटका केही होटल बन्दसमेत भएका छन्। सञ्चालनमा रहेका होटलमा पनि कर्मचारी अभाव छ। भएका कर्मचारी पनि अन्य क्षेत्रमा गइसकेका कारण हाल सञ्चालनमा रहेका होटल घरकापरिवारले नै चलाइरहेको एक व्यवसायीले जानकारी दिए।

होटलमा कर्मचारी अभावमात्र होइन, बैंकले समेत ब्याज र किस्तामा कडाइ गर्न थालेको छ। यही अवस्था रहँदै गए अबको केही महिनाभित्र यहाँका धेरै होटलमा ताला लाग्न सक्ने अवस्था आउने अर्का एक व्यवसायीले बताए। बैंकहरूले पनि सुरु–सुरुमा सस्तो ब्याजमा अन्धाधुन्ध घरजग्गामा लगानी बढाएको र अहिले ब्याज बढाएपछि व्यवसायी थप मर्कामा परेको ती व्यवसायीको भनाइ छ।

ब्याज र किस्ता तिर्न सक्ने अवस्था अहिले नरहेकाले धेरै होटल लिलामीमा जान सक्ने उनको दाबी छ।

सोमबार ३ असोज २०७९ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया