काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ । आर्थिक वर्षको पहिलो दिन आइतबारको कारोबारमा ९७ अंकले बढेको बजार सोमबार भने पुरानो उच्च अंकले तोड्दै फेरि तल झरेको छ ।
गत जेठ ३१ गते ३०२५ अंकलाई नेप्सेले सोमबार कारोबार खुलेको ७ मिनेटमै बजार ३०३१.८७ पुगेको थियो । तर, त्यसपछि बजार ह्वात्तै घटेर २० मिनेटमा २९९३.२४ बिन्दूमा आइपुगेको थियो । त्यसपछि फेरि बजार बढेर ३७ मिनेटमा ३०२९.६७ बिन्दूसम्म पुगेको बजार फेरि घट्ने बढ्ने क्रमलाई निरन्तरता दिँदै कारोबारको डेढ घण्टामा २९८२ बिन्दूसम्म आइपुग्यो । त्यसपछि पनि बजार बढ्ने घटनेक्रम चलिरहयाे ।
अन्तिममा भने १३.९७ अंकले बढेर नेप्से सूचक २९९४.५८ बिन्दूमा रोकिएको छ । सोमबारको कारोबारलाई नियाल्दा लगानीकर्ताहरुमा नाफा बुक गर्ने होड तीब्र छ । अर्कोतिर कम्पनीहरुको वित्तीय विवरण कस्तो आउने हो भन्ने आंशका पनि उत्तिकै छ । अहिले बढी मूल्य हाल्ने तर, तेस्रो तैमासको वित्तीय विवरणको जस्तै गरी राम्रो आएन भने फसिने हो कि भन्ने चिन्ता लगानीकर्तामा छ ।
त्यसैले लगानीकर्ताहरु एक चरण नाफा बुक गर्ने र त्यसपछि फेरि घटेको बजारमा सेयर उठाउने गरी रणनीति बनाइरहेको देखिन्छ । यसले मंगलबार बजार अझ सम्हालिने सम्भावना उत्तिकै छ । तर, यो सातामा बजारले नयाँ गति समाउने र अर्को साता फेरि उच्च पैल्याउने सम्भावना छ ।
लगानीकर्ता सूचक हेरेरभन्दा पनि आफूलाई फाइदा हुने कम्पनी छनोट गरेर लगानी गर्दा पछुताउनुपर्ने परिस्थिति बन्दैन । सोमबार ३ करोड ७५ लाख ७१ हजार कित्ता सेयर किनबेच भई ११ अर्ब ८१ करोड ३७ लाख बराबर कारोबार भएको छ । यो आइतबारको कारोबारभन्दा बढी हो ।
तर, पछिल्लो सातादेखि निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सोमबारको नयाँ उचाइलाई पछ्याउन भने सकेन । गत आर्थिक वर्षको अन्तिम साता मात्रै ५७ अंकले बजार बढेको थियो । आइतबार पनि ९७ अंकले बजार सूचक बढेपछि लगानीकर्ता नाफा बुक गर्न अग्रसर भएका हुन् । आइतबारै लगानीकर्ताले नाफा बुक गर्ने मनस्थिति बनाएर अन्तिम समयमा कारोबार बढाएका थिए ।
सोमबार सिजर्नी पावर डेभलपमेन्टको सेयरमा सर्किट लागेको छ भने विशाल बजार कम्पनीको सेयर मूल्य पनि ९.२ प्रतिशतले बढेको छ । उता सोमबार पनि ऋणपत्रको सबैभन्दा बढी मूल्य घटेको छ । एनआईबी डिबेञ्चरको मूल्य ५.८७ प्रतिशतले घटेको छ । सोमबार एनआईसी एसिया बैंकको ३५ करोड ४१ रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सबैभन्दा बढी सेयर खरिद बिक्री हुने कम्पनी भएको छ ।