बुधबार, साउन १३ २०७८ ०९:०० AM

×

ताप्लेजुङ जिल्लाका किसानले गरे अलैंंचीबाट १ अर्ब ३५ करोड आम्दानी

images

ताप्लेजुङ । ताप्लेजुङको अलैंची जोनमा उत्पादित अलैंचीको बिक्रीबाट एक वर्षमा किसानले १ अर्ब ३५ करोड रुपैयाँ आम्दानी लिएका छन् ।

जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैंची उत्पादन गरेका हुन् । अलैंची जोनबाट २ हजार ६ मेट्रिक टन उत्पादन भएकोमा २ हजार मेट्रिक टन बिक्रीबाट १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

करिब छ मेट्रिक टन अलैंची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैंची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि ३ हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।
 
फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैंची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छ मध्ये सबै वडामा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक छ वटा वडामा अलैँची खेती हुँदै आएको छ ।

आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच वटा वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैंची खेती गरिन्छ ।

जिल्लामा रहेका कुल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दैआएको अलैंची जोनका कार्यालय ताप्लेजुङले जनाएको  छ । रासस

 

सोमबार ४ साउन २०७८ ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया