×

बन्दीपुरमा पाँचतारे होटलसहितको केबलकारमा २ अर्ब ६० करोड लगानी 

images

काठमाडौं । तनहुँको बन्दिपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकार आगामी १४ महिनाभित्र सञ्चालनमा आउने भएको छ । 
विकासकर्ता बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले ढिलोमा २०८० को वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । 

हाल केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ भने होटल निर्माणको काम पनि तीव्रतापूर्वक भइरहेको बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्माले बताए । 

बिनाअवरोध काम भएमा केबलकार जडानको काम ५ महिनामा सकिने बताए । तर, कोरोना महामारीको तेस्रो लहर चलिरहँदा एक वर्ष लाग्न सक्ने उनको भनाइ छ । 

पहिलो चरणमा बटन स्टेसन, केबलकार, होटल भवन, रेस्टुरेन्ट र पार्किङ संरचनाको काम सकिने छ । दोस्रो चरणमा हिलटपमा पाँचतारे होटल सञ्चालनमा ल्याउने तयारी विकासकर्ता कम्पनीको छ ।

पहिला केबलकारको बटन स्टेसन त्यसपछि केबलकार र अन्तमा होटल सञ्चालनमा आउने शर्माले सुनाए । बेसमेन्टसहित होटल १७ तलाको हुनेछ । केबुलकार सीधै होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । 

अहिले होटलको कोठा संख्या ६६ बाट बढाएर ८७ पुर्याइएको छ । केबलकारमा रेस्टुरेन्ट निर्माणका साथै केबलकारको क्षमता प्रतिघण्टा ३०० बाट बढाएर ५०० पुर्याइएको छ । यस्तै सेमिनारलगायत अन्य कामका लागि १ हजार जना मान्छे अट्ने ठूलो हल पनि बन्ने भएको छ ।

होटलसहितको केबलकार संरचना बनाउन २ अर्ब ६० करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।

संस्थापकहरुको स्वपुँजी (इक्विटी) ३९ र ६१ प्रतिशत बैंकहरुको लगानी हुने गरी संरचना तयार पारिएको छ । विकासकर्ता बन्दीपुर केबलकारमा नेपाल एसबीआई बैंकको अगुवाइमा एनएमबी बैंकको ऋण लगानी रहेको छ ।

कम्पनीले दुई बैंकबाट १ अर्ब रुपैयाँ ऋण लिएको छ । यस्तै बैंकबाट ऋण लिनका लागि साख निर्धारण (क्रेडिड रेटिङ) गरिसकेको छ । कम्पनीले केयर नेपालबाट केयर एनपी बीबी रेटिङ पाएको छ ।

बैंकसँग ऋण स्वीकृत गरे पनि कम मात्र लगानी भएको अध्यक्ष शर्माले सुनाए । आयोजनाको लागत बढेकाले बैंकबाट लिने ऋण र स्वपुँजी बढाउने उनले जानकारी दिए ।  

गएको दसैं अघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो । 

होटेलबाट मनोरम सूर्योदयको दृश्य देख्न सकिनेछ । होटेलमा सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बंगला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल संरचना हुनेछन् । 

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर सोसमेत बनाउने तयारी गरेको छ । केबलकार जडानको काम कोलकाताको कन्भेयर एन्ड रोपवे सर्भिसले पाएको छ ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने छ । केबुलकार १.६ किलोमिटरको हुनेछ ।

परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको बताइएको छ ।

केबलकार तथा होटल सञ्चालनमा आएपछि मात्र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने कम्पनीले बताएको छ । 
 

बुधबार ५ माघ २०७८ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया