काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र बिबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरिभक्त श्रेष्ठविरुद्ध घुस लेनदेन गरी भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्राविधिक उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेको सूचना तथा उजुरी निवेदनका आधारमा अख्तियार टोलीले नेपाललाई घुस रकम लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१ मनकामना मार्गस्थित होटल अरण्य परिसरबाट नियन्त्रणमा लिएको थियो।
त्यसैगरी उपसचिव नेपालले त्यसबेला प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा स्रोत नखुलेको थप १६ लाख ५० हजार गरी कूल २२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार अनुसन्धान सिलसिलामा उपसचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाइडिङ सञ्चालन गर्न लाइसेन्स दिने क्रममा घुस माग गरी ६ लाख रुपैयाँ लिएको पुष्टि भएको थियो। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को कसुर भएको हुँदा नेपाललाई बिगो ६ लाख कायम गरी जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा १ को देहाय ङ बमोजिम कैद सजाय हुन मागदाब लिइएको छ।
उपसचिव नेपालले आफू बहाल रहेको पदअनुसार बिबी एयरवेजको इजाजत नवीकरणसम्बन्धी कार्य सम्पादन गरेकोमा उनले त्यही काम गरेको बिबी एयरवेजका सिइओ श्रेष्ठसँग १६ लाख ५० हजार सापटी लिई भ्रष्टाचार निवारण ऐन दफा ५ को उपदफा १ बमोजिम कसुर गरेको अख्तियारले जनाएको छ।
‘त्यसकारण उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा १ अनुसार कैद सजाय गरी १६ लाख ५० हजार रुपैयाँ सोही ऐनको दफा ५ ९१० बमोजिम जफत गरी पाउनसमेत मागदाबी लिइएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी बिबी एयरवेजका सिइओ श्रेष्ठले आफू बहाल रहेको कम्पनीको इजाजत नवीकरणसम्बन्धी कार्यसम्पादन गरेका उपसचिव नेपाललाई १६ लाख ५० हजार सापटी दिई निजलाई लाभ पुर्याउने काम गरी नेपालले गरेको भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा श्रेष्ठमाथि सोही ऐनको दफा ५ को उपदफा १ ले हुने सजायमा दफा २२ को प्रतिबन्धत्माक वाक्यांशबमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
बिबी एयरवेजका सिइओ श्रेष्ठ २०५८ सालमा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा ‘लाउड काण्ड’ भएको थियो। त्यसबेला पनि श्रेष्ठलाई अख्तियारी भ्रष्टाचार आरोपमा मुद्दा चलाएको थियो। श्रेष्ठ उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकसमेत हुन्।