काठमाडौं । निर्माण सम्पन्न भएको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट पहिलो युनिटबाट उत्पादन थाल्ने तयारी भएको छ । अहिले बिजुली उत्पादनका लागि सुरुङमा पानी भर्ने काम पुनः सुरु गरिएको छ ।
ठाडो सुरुङमा पानी भर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । एक साताभित्र पानी भर्ने काम सकिएपछि पहिलो युनिटबाट प्रसारण लाइनमा जोड्ने गरी परीक्षण उत्पादन थालिने अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताए ।
यसअघि पहिलो र दोस्रो युनिटको प्रसारण लाइनमा नजोडिइकन (नो लोडमा) परीक्षण बिजुली उत्पादन सफल भइसकेको छ । अब प्रसारण लाइनमा प्रवाह हुने गरी लोडमा बिजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले स्पष्टपारे । उनका अनुसार प्रसारणलाइनमा जोडिने गरी परीक्षण उत्पादन थालिने छ । परीक्षण सफल भएपछि व्यावसायिक रूपमा बिजुली उत्पादन सुरु हुनेछ ।
असार १५ सम्म पहिलो युनिटबाट बिजुली उत्पादन सुरु हुने अनुमान गरिएको उनले जानकारी दिए । यद्यपि दिन भने तोएिको छैन । ‘अहिलेको काम हेर्दा यो केवल अनुमान मात्र हो,’ उनले भने ‘सुरुङमा पानी भरिएपछि पुनः पहिलो युनिटबाट बिजुली उत्पादनका लागि परीक्षण सुरु हुनेछ ।’
यसअघि पहिलो र दोस्रो युनिटबाट परीक्षण उत्पादनको काम सम्पन्न गरिसकेको छ । दोस्रो युनिटको पहिलो चरणको परीक्षण पनि सकिएको छ । अब विस्तारै ४ वटा युनिटको नो लोडमा परीक्षण गर्ने उनले जानकारी दिए । यसअघि जेठ १२ गतेसम्म परीक्षण उत्पादान थाल्ने तयारी भए पनि पेनस्टक पाइपको जर्ति (म्यानहोल) मा समस्या आएपछि मर्मत गरिएको थियो । त्यसैबेला दुईवटा युनिटको नो लोड टेस्ट गरिएको थियो ।
वर्षाका कारण आएको बाढीले बाँधमा काठ र सिलिण्डरलगायत जम्मा भएको छ । बाँधको सफाइ शनिबार सकिने भएको छ ।
भदौसम्म आयोजनाबाट पूरै ४५६ मेगावाट बिजुली उत्पादन हुने अपर तामाकोसीले जनाएको छ । ७६ मेगावाट क्षमताका ६ वटा युनिटहरु छन् ।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।