बुधबार, साउन १३ २०७८ ०९:१९ AM

×

साउनदेखि बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक

images

काठमाडौं । सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुर्याएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदुर दिवसका दिन श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ हजार रुपैयाँ पुर्याउने घोषणा गर्नुभएको थियो । अब श्रमिकले आधारभूत पारिश्रमिकबापत ९ हजार ३ सय ८५ रुपैयाँ र महँगी भत्ताबापत ५ हजार ६ सय १५ गरी मासिक १५ हजार रुपैयाँ पाउने छन् । 

दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ३ सय ६१ रुपैयाँ र महँगी भत्ता २ सय १६ रुपैयाँ गरी प्रतिदिन ५ सय ७७ रुपैयाँ पाउने छन् । यस्तै घन्टाको हिसाबले काम गर्ने श्रमिकको आधारभूत पारिश्रमिक ४८ रुपैयाँ र महँगी भत्ता २९ रुपैयाँ गरी प्रतिघन्टा ७७ रुपैयाँ पुगेको छ । 

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक  १३ हजार ४ सय ५० रुपैयाँ रहेको थियो । श्रम ऐन, २०७४ मा प्रत्येक दुई÷दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने प्रावधान छ । श्रम ऐनअनुसार गत वर्ष नै न्यूनतम् पारिश्रमिक पुनरावलोकन हुनुुपर्ने भए पनि कोरोना महामारीका कारण अर्थतन्त्र ओरालो लागेको भन्दै सरकारले यस वर्ष मात्र पारिश्रमिक वृद्धि गरेको हो । 

रोजगारदाताले सरकारले तोकेको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष तथा उपदानलगायत सुविधा प्रदान गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

सरकारले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिसम्बन्धी सूचना २०७८ वैशाख २० गते राजपत्रमा प्रकाशित भइसकेको छ । 

चिया बगानका श्रमिकको पारिश्रमिक १२ हजार ८१
    
यसैबीच सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ रुपैयाँ तोकेको हो । यसअघि चिया बगानका श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक रु ११ हजार ५ सय ६१ रुपैयाँ रहेको थियो । 

शनिबार २ साउन २०७८ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया