×

स्थानीय चुनावमा कांग्रेस अघि लाग्दा सेयर बजारमा झट्का, थप झर्ने संकेत हो ?

images

काठमाडौं । स्थानीय निर्वाचनको परिणाममा नेपाली कांग्रेसले अग्रता लिइरहँदा सेयर बजारमा भने पहिरो गएको छ । चुनाव अघि गत बिहीबार २३५०.४२ अंकमा रोकिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकका लागि यो साताको पहिलो कारोबार खुलेको दिन मंगलबार निराशाजनक देखिएको छ । 

कारोबार खुलेदेखि नै मंगलबारका लागि बिहीबारकै बिन्दुलाई उच्च मान्दै बजार सूचक निरन्तर खच्कियो । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेसले ४४ प्रतिशत मत आफ्नो पक्षमा पार्दा पनि सेयर बजार भने ओरालो लागेकाे हो । अझ सत्तारुढ दलको मत जोड्दा दुईतिहाइ स्थानीय तहमा सरकारी पक्षको विजय हुने देखिन्छ । तर, सेयर बजारले भने नकारात्मक दिशा समाएको छ । 

कारोबार खुलेको सुरुदेखि घटेको बजारले ८४.९ अंकको गिरावट हुँदै २२६५.५२ मा रोकिएको छ । नेप्सेको कारोबार प्रवृत्ति र घटिरहेकै अवस्थामा बजार बन्द भएकाले बुधबार पनि बजार घट्न सक्ने देखिन्छ । यदि रफ्तार यस्तै रहे र २२०० बिन्दुलाई छाडेर बजार सूचक तल झर्यो भने थप २ सयदेखि ३ सय अंकको गिरावट आउन सक्छ । तर, अहिले नै यस्तै हुन्छ भन्ने स्थिति छैन । 

तथापि, बजेट अघि बजारमा थप दबाब सिर्जना गर्ने र बजेटमार्फत सेयर बजार सुधारका लागि दबाब दिने स्थिति पनि छ । वर्तमान सरकार बनेदेखि नै सेयर बजारका लगानीकर्ता रुष्ट छन् । जसको परिणाम भदौ २ गते ३२२६ सम्म पुगेको सूचक गत साता २२०० बिन्दुबाट उक्लिएर २३६९ सम्म पुगे पनि मंगलबारको उच्च गिरावटले फेरि पुरानै ठाउँमा पुर्याएको छ । 

गत साता न्यून बिन्दुबाट १५० अंक उचालेका लगानीकर्ताले नाफा बुकलाई ध्यान दिँदा पनि मंगलबार थप दबाब सिर्जना भएको हो । मंगलबार बजार घटाउन १८८ कम्पनीले भूमिका खेलेका छन् । तीन कम्पनीको नकारात्मक सर्किट लागेको छ । मर्जरपछि गत साताबाट कारोबार खुलेको सूर्योदय वमी लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो भने अन्य सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

उता उच्च अंकले गिरावट आउँदा पनि बोटलर्स नेपाल बालाजु र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सामान्य वृद्धि देखिएको छ । यता, मंगलबार कारोबार रकम पनि बिहीबारको तुलनामा घटेको छ । मंगलबार ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँको मात्रै सेयर खरिदबिक्री भएको छ । कुनै पनि कम्पनीले १० करोड कारोबार नपुर्याउँदा जाल्पा समुदायिक लघुवित्तको ९ करोड ७९ लाख सेयर किनबेच भएको छ ।

मंगलबार सरकारले सातामा २ दिन सार्वजनिक बिदा घोषणा पछिको पहिलो कारोबार पनि हो । यसअघि निर्वाचन, बुद्ध जयन्तीलगायतका कारणले ४ दिन सेयर खरिद बिक्री हुन पाएन । लगानीकर्ताको सम्पत्ति धेरै दिन होल्ड हुँदा पनि मंगलबार धेरै बिक्रीमा चाप आउँदा बजारमा थप संकट देखिएको हो । 

अर्थतन्त्रका प्रमुख सूचकहरु नफेरिएको, बजेट आउने दिन नजिकिँदै गएको, अर्थमन्त्री र गभर्नरबीचको द्वन्द्व कायमै रहेकाले बजार थप संकटोन्मुख हुने संकेत गर्छ । सरकारले मंगलबारका लागि बजेट अधिवेशन आह्वान गरेको छ । 
 

मङ्गलबार ३ जेठ २०७९ ०३:२१ PM मा प्रकाशित

प्रतिक्रिया