×

देशकै ठूलो माथिल्लो तामाकोसीको नोक्सान १ अर्ब ८७ करोड, नाफामा आउन अझै केही वर्ष लाग्ने 

images

काठमाडौं । देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएको पहिलो वर्ष नोक्सानमा गएको छ । गत आर्थिक वर्षमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानमा गएको छ ।

राष्ट्रिय गौरवको सो आयोजना २०७८ भदौ २५ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । कम्पनीले बिजुली बेचेर एक वर्षमा ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । बिल पेस भएको मध्ये नेपाल विद्युत प्राधिकरणले कम्पनीलाई ५ अर्ब ९२ करोड रुपैयाँ मात्र भुक्तानी गरेको छ ।

गत आर्थिक वर्ष साउन र भदौको खर्चहरु सम्पत्तिमा पुँजीकरण गरी बाँकी १० महिनाको ब्याज खर्च, ह्रासकट्टी र अन्य सञ्चालन खर्चलाई हिसावमा लेखांकन गरिएको कम्पनीले जनाएको छ ।

नोक्सान भएपछि कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १७.६९ रुपैयाँ ऋणात्मक भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ (किताबी मूल्य) ७४.३३ रुपैयाँमा झरेको छ । कम्पनीले चैत र असारमा गरी दुई किस्ता ऋण तिरेको छ । यसबीचमा ५ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ ऋण तिरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

विभिन्न कारणहरुले आयोजनाको समय बढ्न गई लागतसमेत वृद्धि भएकाले आउँदो केही वर्षसम्म कम्पनीको नाफामा असर पर्ने देखिने भएको छ । रोल्वालिङ खोला डाइभर्सन आयोजना बनाउन कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको वित्तीय अवस्थामा सुधार आउने अनुमान गरिएको छ । कम्पनीको १४ औं वार्षिक साधारणसभा भदौ ३ गते बोलाइएको छ । सभाले पारित गरेपछि हकप्रद निष्कासन गर्ने कम्पनीले जनाएको छ ।  

कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । हकप्रद सेयर निष्कसनपछि पुँजी बढेर २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । रोल्वालिङ खोलाबाट थप ३१ करोड युनिट बिजुली उत्पादन हुने छ ।

सो आयोजना बनाउन ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सरकार, विद्युत प्राधिकरण, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानबाट प्राप्त दीर्घकालीन ऋण ४६ अर्ब ८८ करोड रुपैयाँ छ । प्राधिकरणबाट प्राप्त अल्पकालीन ऋण २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 
 

मङ्गलबार ३१ साउन २०७९ ०७:०७ AM मा प्रकाशित

प्रतिक्रिया