काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीको महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । प्राधिकरणले महसुल समायोजनको प्रस्ताव गरेपछि आयोगले सरोकारवालाहरुबाट राय, सुझाव तथा प्रतिक्रिया लिने भएको छ । राय, सुझाव लिन आयोगले असोज १४ गते साढे ११ बजेदेखि सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको छ ।
२० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकलाई इनर्जी शुल्क निःशुल्क गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्देशन दिएपछि विद्युत प्राधिकरणले सोहीअनुसार प्रक्रिया अघि बढाएको हो ।
प्राधिकरणले आयोगमा प्रस्ताव गरेको महशुल दरमा २० युनिटसम्मका ग्राहकहरुलाई इनर्जी शुल्क निःशुल्क बनाइएको छ । यस्तै २५० युनिट ग्राहकहरुलाई इनर्जी शुल्क घटाएर ९ रुपैयाँ ५० पैसा बनाउन प्रस्ताव गरिएको छ ।
यस्तै मासिक ४०० युनिटभन्दा बढी बिजुली खपत गर्नेको इनर्जी शुल्क १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ । ५, १५, ३० र ६० एम्पियरका ग्राहहरुको महसुल दर यथावत राखी इनर्जी शुल्क घटाइएको छ ।
आयोगका अनुसार प्राधिकरणका ४९ लाख ग्राहकहरुले वार्षिक ९ अर्ब ४१ करोड १० लाख युनिट बिजुली खपत गरेका छन् । खपतदर वर्षेनी बढ्दै गएको छ ।
यस्तै ठूला ग्राहकहरुको इनर्जी शुल्क र महसुल दरमा पनि हेरफेर गरिएको छ । पुसदेखि चैतसम्म एउटा र वैशाखदेखि मंसिरसम्म फरक फरक दर प्रस्ताव गरिएको छ ।
यस्तै चार्जिङ स्टेसनका लागि साँझ ५ देखि राती ११ बजेसम्म र राती ११ देखि विहान ५ बजेसम्म अफ पिक र बिहान ५ देखि साँझ ५ बजेसम्मको महसुल दर तोकिएको छ ।