बुधबार, साउन १३ २०७८ १०:४३ AM

×

कस्तो हुनुपर्छ मेक इन नेपालको उद्देश्य ? उद्योगी शशिकान्त अग्रवालको सुझाव

images

मेक इन नेपाल सुन्दा जति राम्रो छ, त्यति नै उत्कृष्ट यसको उद्देश्य हुनुपर्छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले चलाएको मेक इन नेपाल स्वदेशी अभियान एकदमै राम्रो छ । यो अभियानलाई सरकारले पनि अपनत्व लिएको छ । निजी क्षेत्रले चलाएको अभियानलाई सरकारले अपनत्व लिनु भनेको झनै राम्रो कुरा हो । 

सीएनआईको एकल प्रयासले मात्रै मेक इन नेपाल अभियान पूरा हुन सक्दैन । यो अभियानमा निजी क्षेत्र र सरकार एकैसाथ एकै ठाउँमा हुनुपर्छ । तब मात्रै मेक इन नेपाल वास्तविकतामा परिणत हुन्छ । 

यसअघिको सरकारले मेक इन नेपाल अभियानलाई बजेटमै समावेश गरेको छ । यो निजी क्षेत्रकै लागि एउटा सुखद् कुरा हो । सुरुमा सीएनआई यसको नेतृत्व लिए पनि मेक इन नेपाल अभियान अहिले राजनीतिज्ञबीचमा पनि बहसको विषय बनेको छ । यसलाई पनि सकारात्मक मान्नुपर्छ । 

अहिले राजनीतिक वृत्त, सरकारी तह र निजी क्षेत्रमा मेक इन नेपालले राम्रो ‘स्पेस’ पाइरहेको छ । मेक इन नेपाल स्वदेशीको अवधारण आएको ५ महिनाभन्दा बढी भइसकेको छ । यसको औपचारिक रुपमा सुरुवात गरेको पनि ४ महिना कटिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मार्च ८ २०२१ मा यसको औपचारिक रुपमा सुरुवात गरेका हुन् । 

यस्तो हुनुपर्छ मेक इन नेपालको उद्देश्य 

जुन सामान नेपालले बाहिरबाट आयात गरिरहेको छ, त्यस्ता सामान नेपालमा बन्नुपर्छ । त्यसका लागि मेक इन नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । 

नेपालीलाई त्यतातिर प्रोत्साहित गर्नुपर्छ र बनाउन पनि सुरु गरिहाल्नुपर्छ । त्यसपछि मात्रै मेक इन नेपाल स्वदेशी अभियान वास्तविकतामा परिणत भएको मान्न सकिन्छ । 

उदाहरणका लागि एक जना कपडा व्यापारी, जसले भारत तथा बंगलादेशबाट कपडा आयात गरिरहेको छ । आजको दिनमा भारत तथा बंगलादेशबाट कपडा आयात गर्दा प्रतिमिटरमा ५ रुपैयाँ पाइदा हुन्छ । तर, मेक इन नेपाल अभियानले त्यही कपडा नेपालमा बनाउन प्रोत्साहन गर्नुपर्यो र फाइदा दोब्बर हुन वातावरण बनाउनतिर लाग्नु पर्छ । 

आयात गर्दा ५ रुपैयाँ फाइदा हुन्छ भने यही बनाउँदा १० रुपैयाँ फाइदा हुनुपर्यो । त्यसका लागि सरकारले मूल्य अभिवृद्धि कर छुट दिने हो कि, बिजुलीमा सहुलियत दिने हो, ब्याज सस्तो बनाउने हो कि, वा बाहिरबाट आउने कपडाको भन्सार वृद्धि गर्ने हो । यतातिर मेक इन नेपालले काम गर्नुपर्छ जस्तो लाग्छ ।  

मेक इन नेपालको एउटै मात्रै उद्देश्य के हो भने नेपालमा मेक गर्ने । नेपालका उत्पादन बढाउने । तर, अहिले नेपालमा उत्पादन बढाउनुपर्छ भनेर कतैबाट पनि सुरुवात भइरहेको देखिराकेको छैन । जबसम्म आफूलाई आवश्यकता पर्ने वस्तु नेपालमै बनाउन सकिँदैन, तबसम्म मेक इन नेपालले सार्थकता पाउँदैन । जुन वस्तु नेपालमै बनाउन सम्भव छ, त्यस्ता वस्तु बन्नुपर्छ । बनाउन उद्योगीलाई विभिन्न प्रोत्साहन गर्न आवश्यक छ । 

‘सेरोमोनियल डिरेक्सनमा’ मेक इन नेपाल

मेक इन नेपाल अभियानले देशभित्र ‘मेक गर्ने’ माहोल बनाउनुपर्ने हो । उद्यमशीलता बढाउने काममा लाग्नुपर्ने हो । तर, अहिले सेरोमोनियल डिरेक्सनतिर मात्रै अघि बढेको देखिन्छ । प्रधानमन्त्रीले यसको स्वामित्व लिनुभयो, मुख्यसचिवको उपस्थितिमा सम्पूर्ण सचिवहरुलाई बोलाएर छलफल गरियो । सचिवहरुले यसलाई प्रभावकारी रुपका कार्यान्वयन गर्ने प्रतिबद्धता गरेजस्ता कार्यक्रममा मेक इन नेपाल रुमलिएको देखिन्छ । 

हो, सरकारले स्वामित्व लिएको छ । यो राम्रो कुरा हो । तर, यसको कार्यान्वयन मोडल अहिलेसम्म सार्वजनिक भएको छैन् । देशभित्र उत्पादन बढाउने गरी कार्यक्रम आएको छैन् । अब आउन जरुरी छ । 

व्यापारीलाई उद्योगमा रुपान्तरण गर्नुपर्छ 

नेपालमा अहिले उद्योगभन्दा व्यापार गर्नेहरु बढिरहेका छन् । मेक इन नेपालले व्यापार गर्नेलाई उद्योगमा कन्भर्ट गर्नसक्नुपर्छ । विदेशमा बनेको सामान नेपालमा ल्याउने र बेच्ने प्रचलन बढिरहेको छ । तर, नेपालमा मेक गर्ने वातावरण मेक इन नेपाल स्वदेशीले बनाउन प्रयत्न गर्न जरुरी छ । तब मात्रै मेक इन नेपाल स्वदेशी अभियानको उद्देश्य पूरा हुन्छ । 

कुटिरदेखि ठूलो उद्योग स्थापना गर्नसम्म मेक इन नेपालको भूमिका रहनुपर्छ । अहिले नयाँ-नयाँ स्टार्टअप आएका छन् । उनीहरुको आर्थिक अवस्था कमजोर हुन्छ । उनीहरुले उत्पादन गरेको सामग्रीलाई बजारीकरण गर्न ठूलो समस्या छ ।

आयातीत उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । यी यावत समस्यालाई हल गर्न मेक इन नेपालले काम गर्नुपर्छ । तबमात्रै मेक इन नेपाल सफल बन्छ । 

मेक इन नेपाल वास्तविक धरातलमा पुग्नुपर्छ । भरखरै व्यवसायमा प्रवेश गरेकाहरुलाई परेको समस्या सल्ट्याउन मेक इन नेपालले काम गर्नुपर्छ । त्यसो हुन सके आयात प्रतिस्पथापन गर्न सहज हुन्छ । आयात प्रतिस्थापन गर्नु भनेको निर्यात गरेसरह हुन्छ । 

बिहीबार ३१ असार २०७८ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया