मङ्गलबार, असोज १२ २०७८ ०३:५३ PM

×

बिरयानी हाउसलाई चेनको रुपमा विस्तार गर्दै अन्सारी, काठमाडौंमा तीनवटा आउटलेट

images

विराटनगर । विराटनगरका पप्पु अन्सारी अहिले ३० वर्षका भए । तीन दशकको उमेरमा शिक्षादेखि होटल क्षेत्रमा राम्रो अनुभव बटुलेर अहिले सफल व्यवसायीका रूपमा परिचित छन् । १० कक्षामा पढ्दादेखि इन्स्टिच्युट खोलेर आफूभन्दा साना कक्षाकालाई पढाउँदै आएका उनले पछि कन्सलटेन्सी पनि सञ्चालन गरे । 

सानै उमेरमा पढाइसँगै कमाउनुपर्छ भन्ने बुझेका उनले कमाएको केही रकम समाजसेवामा पनि लगाउँथे । कन्सलटेन्सी चलाइरहेका उनले पछि आफ्नै दाजुले किनेको मःम पसलमा काम गर्न थाले । दाजुभाइले सञ्चालन गरेको मःम पसल पनि केही वर्षमा बन्द हुने अवस्थामा पुग्यो । 

मःम पसल बन्द भएपछि उनले अर्को होटल सञ्चालनमा ल्याए । उनले आफूले पढेको कलेजमा क्यान्टिन पनि सञ्चालन गरे । यसरी होटल क्षेत्रको व्यवसायको अनुभव बटुल्दै एकपछि अर्को होटल व्यवसाय गर्दै आएका अन्सारीलाई त्यही बेला विराटनगरको ट्राफिक चोकमा बन्द भएको होटल सञ्चालन गर्न अनुरोध आयो । अनुरोध गर्ने व्यक्ति थिए होटल व्यवसायी प्रमोद ढकाल । 

आफ्नै घरमा सञ्चालन गरेको होटल बन्द गरेर काठमाडाैं बस्न थालेपछि उनले अन्सारीलाई होटलको अनुभव भएकाले यस्तो आग्रह गरेका थिए । उनको आग्रहलाई स्वीकारेर अन्सारीले होटल सञ्चालनमा ल्याए । र, त्यही होटललाई उनले रोयल बिरयानी हाउसमा परिणत गरे । 

विदेशमा बिरयानी बनाउने काम गरेर आएका विराटनगरका कमल श्रेष्ठ, अमिर लिम्बू, यासिल घिमिरेको अन्सारीसँग भेट भएपछि बिरयानी हाउस खोल्ने योजना बनेको हो । लामो समय रोजीरोटीका लागि परदेसिएका उनीहरू तीनै जना साउदी अरबको विभिन्न क्षेत्रमा रहेर होटल व्यवसाय क्षेत्रमा काम गर्दै आइरहेका थिए  । 

स्वदेशमा नै केही गर्ने भनेर विदेशबाट फर्केका उनीहरूले आफ्नो चाहनाका बारेमा अन्सारीसँग भनेपछि उनले विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गर्ने उद्देश्यले बिरयानी हाउस सञ्चालनमा ल्याए । विराटनगवासीले महँगोमा खाइरहेको बिरयानी उनले १०० रुपैयाँमा नै बिक्री गर्थे उनी । जसले गर्दा उनको बिरयानी हाउसमा ग्राहकको भीड लाग्थ्यो । ग्राहकको भीडलाई थेग्न नसकेर उनले विराटनगरमा नै अर्को शाखा पनि विस्तार गरे । 

सस्तोमा गुणस्तरीय बिरयानी खुवाउने र प्रत्येक घरपरिवारमा साताको एक दिन घरमा खाना पकाउन नपरोस भन्ने उद्देश्यले नै आफूले यो व्यवसाय सञ्चालन गरेको उनको भनाइ छ । आफ्नो मुख्य उद्देश्य भनेको पैसा नहुनेले पनि बिरयानी खान सकुन भनेर फाइदाभन्दा नि सेवाको भावनाले सञ्चालन गरेको उनले बताए । अन्य ठाउँमा २ सयभन्दा बढी मूल्य भए पनि आफूहरूले १ सयमा नै बिक्री गर्ने गरेको उनले जानकारी दिए । 

रोयल बिरयानी हाउस, द बर्गर हाउसको मोडलमा 

विराटनगरमा दुई वर्ष अगाडि ५ लाख लगानीमा सञ्चालनमा आएको रोयल विरयानी हाउस अव द बर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन मोडलमा जाने भएको छ । 

अन्सारीले २५ लाख रुपैयाँको लगानीमा भर्खरै सुनसरीको धरानमा रोयल बिरयानी हाउसको शाखा सञ्चालनमा ल्याएका छन् । अबको केही दिनमा इनरुवामा पनि बिरयानी हाउसको सञ्चालनमा आउने उनले जानकारी दिए । 

इनरुवामा सञ्चालनमा आएसँगै रोयल बिरयानी हाउस, द बर्गर हाउस एण्ड क्रञ्चिफ्राईड चिकन मोडलमा विस्तार गरिने उनले क्यापिटल नेपाललाई जानकारी दिए । 

१५ देखि २० लाख मूल्यमा आउटलेट दिइने उनको भनाइ छ । काठमाडौंमा तीन जनाले आफ्नो बिरयानी हाउसको आउटलेट मागेको उनले जानकारी दिए । ‘विराटनगरको विभिन्न ठाउँ, प्रदेश १ को सुनसरी, झापा, पहाडी जिल्लाहरूबाट पनि आउटलेट दिन माग आएको छ’, उनले भने, ‘धरान र इनरुवामा पनि त्यही अनुसारको आउटलेट दिइएको हो, यसको मूल्य सबैतिर एउटै हुन्छ, १५ लाख रुपैयाँसम्ममा दिने सोच बनाएका छौं ।’

तर, आउटलेटचाहिँ आम्दानीको १० प्रतिशत समाजसेवा र व्यवसायमा नै लगाउनुपर्ने र १० प्रतिशत आफूहरूलाई दिने शर्तमा दिने रोयल बिरयानी हाउसका सञ्चालक अन्सारीले जानकारी दिए । आफूहरूले एकै पटक पैसा नलिने भएकाले यसरी लिइएको उनको भनाइ छ । 
व्यापारसँगै समाजसेवा

रोयल बिरयानी हाउसका सञ्चालक सेवा दिने हिसाबले सस्तोमा बिरयानी बिक्री गरेको बताउँछन् । सञ्चालक पप्पु अन्सारी भन्छन्, ‘व्यापारसँगै ग्राहकहरूलाई सेवा पनि दिएका हौं । हामीले सबै वर्गका मानिसको भोको पेट भर्नुपर्छ भन्ने उद्देश्यले फाइदाभन्दा पनि धेरै सेवाको भावले काम सुरु गरेका हौं ।’

‘आफूहरूमा इच्छा चाहना छ भने आफूसँग सम्पत्ति हुनुपर्दैन, अरूले सहयोग गर्छिन्’, उनले भने । आफूसँग धेरै लगानी गर्ने पैसा नभए पनि अरूको सहयोगमा नै यो अवस्थामा पुगेको उनले बताए । आफूले कमाएको १ प्रतिशत समाजसेवामा लगाउने गरेको उनको भनाइ छ । 

विराटनगरमा पछिल्लो समय बिरयानी हाउस खुल्ने क्रम बढेको छ । विराटनगरको भाटभटेनीस्थित ‘रेड चिल्ली बिरयानी’ खानाको पसल, विराटनगरका ठूला होटल बाहेक रानी, मिल्स एरिया, रोडशेष चोक, ट्राफिक चोकलगायतका ठाउँमा बिरयानी हाउस सञ्चालनमा आएको छ । विराटनगर क्षेत्रमा पछिलो समय दर्जन बढी बिरयानी मात्र बनाउने होटल खुलेका छन् ।
 

मङ्गलबार २९ भदौ २०७८ १२:०२ PM मा प्रकाशित

प्रतिक्रिया