काठमाडौं । नेपाल पर्यटन बोर्डले नयाँ परिस्थितिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेको छ । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी)अन्तर्गत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल आयोजना गरेको हो ।
कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो ।
शुक्रबार काठमाडाैंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड-१९ को संक्रमण र यसले पारेको प्रभावकाबीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितिमा पनि नयाँ रणनीतिका साथ काम गर्नुपर्ने अवस्था आएको बताए।
‘कोभिड-१९ को कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर, पनि हामीले केही रचनात्मक कामहरु गर्यौं । जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवर्द्धधनमा सामाजिक जागरणका कार्य, ट्राभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर गर्यौं जसको कारण बोर्डले बेलायतमा बन्डरलस्ट अर्वाड प्राप्त गर्यो । कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थिति सहज बन्ने अवस्था देखिँदैन ।
यद्यपि यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्ने पर्ने अवस्था छ त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि म दातृ निकायलाई अनुरोध गर्छु’, डा. रेग्मीले भने। उनले एसटीअएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना, १९ वटा हाइकिङ रुट निर्माण, १५ किलोमिटर साइकलमार्ग निर्माण, ७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, ६ वटा पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिँदै यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको बताए।
परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा र्पूर्वको कञ्चनजंघादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुरदेखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको थियो ।
कार्यक्रममा राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)का आवासिय प्रतिनिधि आइसोनी लावेले नेपाल पर्यटन बोर्डको सुरुवाती चरणदखि नै यूएनडीपीले बोर्डसँग काम गरेको स्मरण गर्दै कठिन समयका बाबजुद बोर्डले एसटीएलआरपी परियोजनाअन्तर्गत गरेका कामहरु मह्वपूर्ण रहेको बताए। कठिन समयमा कुनै पनि काम गर्न गाहे छ, त्यसमा पनि कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटनमा यस प्रकारका कार्यहरु झनै आवश्यक थियो स त्यसैले हामीले बोर्डसँग मिलेर यो काम गर्यौं ।
परियोजनाले जुन लक्ष्य लिएको थियो त्यो हासिल गर्नु नै परियोजनाको उपलब्धि हो,’ उनले भने । यस्तै उनले पर्यटन क्षेत्रकै विकासका लागि यूएनडीपीले गण्डकी र सुदूरपश्चिम प्रदेशसँग पनि सहकार्य गरी कामहरु अगाडि बढाइएको पनि जानकारी दिए।
कार्यक्रममा बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले पर्यटनसँग सम्बद्ध ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान),नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्स् (नाटा), होटल एसाेसिएसन नेपाल (हान),नेपाल एसाेसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) र लगायतका संस्थाहरू तथा स्थानीय तहसँगको सहकार्यमा एसटीएलआरपीको माध्यमबाट अल्पकालीन रोजगारी सिर्जना मात्र नभई पर्यटकीय प्रडक्टसमेत तयार भएको उल्लेख गरे।
उनले यसबाट दीगो पर्यटन विकासमा मह्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा यूएनडीपीसँगै,वल्र्ड बैंक, आइएफसी, यूएस एड, एसएनभी, यूएन हेबिट्याट, नेपालस्थित मलेसियन दूतावासलगायतका संस्थाबाट प्रतिनिधिहरू सहभागी थिए ।