काठमाडौं। ‘सेकेन्ड ह्यान्ड’ ल्यापटप काण्डमा ‘डेल’ कम्पनीका ल्यापटप तथा कम्प्युटरको संख्या अधिक भेटिएपछि नेपाली बजारमा यसको बिक्री लगभग ठप्प अवस्थामा पुगेको छ।
कोरोना महामारीपछि विशेषगरी सबै कम्पनीका ल्यापटप तथा कम्प्युटर बजार केही हदसम्म सुस्ताएको अवस्था छ। तर डेल कम्पनीका ल्यापटप तथा कम्प्युटरको बजारको अवस्था भने अन्यको दाँजोमा निकै नाजुक अवस्थामा पुगेको हो।
केही साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा नयाँ ल्यापटपसँग मिसाएर पुराना (सेकेन्ड ह्यान्ड) ल्यापटप तथा कम्प्युटर ल्याउने र नयाँ भन्दै बेच्ने गरेको फेला पारेको थियो। जसमा कार्यालयले जाँच गर्दा लगभग ६ सयथान हाराहारी अयोग्य ल्यापटप फेला परेका मध्ये अधिकांश डेल कम्पनीका थिए। सोही कारण ‘डेल’ कम्पनीका ल्यापटप खरिदमा ग्राहक हच्किएको पाइएको छ।
डेलका खुद्रा चेन प्रबन्धक अमित झा डेल कम्प्युटर तथा ल्यापटप बिक्री अवस्था निकै नाजुक रहेको बताउँछन्। कोरोना महामारीदेखि नै यस्ता सामग्रीका बजार अवस्था कमजोर रहेको तर भन्सारले अयोग्य फेला पारेकोमा अधिकांश डेल कम्पनीको रहेको कुराले खासै असर नगरेको उनको प्रतिक्रिया छ।
‘लकडाउन समाप्त भएदेखि ल्यापटप तथा कम्युटर बिक्री निकै नाजुक अवस्थामा छ,’ प्रबन्धक झाले क्यापिटल नेपालसँग भने, ‘अघिल्लो अवस्थासँग तुलना गरेर हेर्दा हाल डेल कम्पनीका ल्यापटप तथा कम्प्युटरको बिक्री आधाभन्दा पनि निकै कमजोर अवस्थामा छ।’
भन्सार विभागले गरेका त्यस्ता अनुगमन तथा निगरानी कार्यले नागरिकले आफ्नो छनोटमा विशेष ध्यान दिने भन्दै झाले डेलमा त्यसको असर केही मात्रामा परे पनि समग्र असर त्यसैको कारण नभएको बताए।
उनका अनुसार हाल समग्र ल्यापटप तथा कम्प्युटर बजार अवस्था कमजोर छ। कोरोना महामारी र लकडाउनका बेला भने ल्यापटप तथा कम्प्युटर बजार सन्तोषजनक थियो।
भन्सार कार्यालयले भन्सार जाँच क्रममा सन् २०१७ मै वारेन्टी सकिएका, किबोर्डहरूमा दाग बसेको तथा धुलो लागेको, अक्षर तथा शब्द मेटिएका सेकेन्ड ह्यान्ड ल्यापटप ल्याएर भन्सार कार्यालयमा नयाँकै कर बुझाएर नयाँ भन्दै बिक्री गर्ने गरेको फेला पारेको थियो।
विभिन्न चार कम्पनीले भित्र्याएका सेकेन्ड ह्यान्ड तथा वारेन्टी सकिएका ६ सय र ‘डिक्लियर’ नभएका ९ सयदेखि १ हजार गरी १ हजार ५ सयथान ल्यापटप फेला परेपछि भन्सार कार्यालयले जफतको तयारी गरिरहेको छ। वातावरण मन्त्रालयबाट पुराना ल्यापटप भएको प्रमाणित गर्ने प्रक्रिया पूरा गरेर जफत गर्न वातावरण विभागको स्वीकृति कुरेर भन्सार कार्यालय बसेको छ।
एसआरपिसी ललितपुर, कौसिकी इन्फोसिस, पाकिजा कम्प्युटर र सनसाइन टेक्नोलोजी गरी चार कम्पनीले ल्याएका ल्यापटमा कैफियत भेटिएपछि भन्सार कार्यालयले बजार अनुगमन गर्ने निकायलाई कडा अनुगमन गर्न र क्रेतालाई खरिद गर्दा सचेत हुन आग्रह गरेको छ।