काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर देखिएको छ । कारोबार खुल्ने बित्तिकै तीव्र उतारचढाव देखिएको सेयर बजार सूचक अन्तिम समयमा स्थिर भयो ।
आइतबार ७१ अंकले बढेको नेप्से सूचक सोमबार भने टिक्न सकेन । यद्यपि बजार खुल्ने बित्तिकै आइतबार २९४७ मा रोकिएको नेप्से सोमबार प्रिओपनिङ सेसनमा २९६२ अंकमा पुगेको थियो ।
नियमित कारोबार खुलेको तेस्रो मिनेटमै नेप्सेले २९८० अंकमा चढे पनि लगतै केही खस्किँदै २९७३ अंकमा झर्यो । तर, आधि घण्टा नपुग्दै नेप्से सूचक २९८४ सम्म पुगेपछि त्यसपछि भने घटेर २९५० मा आयो ।
फेरि उकालो लाग्ने र ओरालो झर्ने चरण पच्छाएको नेप्सेले कारोबारको २ घण्टामा २९७९ मा चढ्यो । तर, त्यसपछि लगातार घटेको सूचक अन्तिम १० मिनेट बाँकी २९४० सम्म झर्यो । अन्तिम समयमा केही सम्हालिँदै सेयर बजार ०.२७ अंकले बढेर सूचक २९४७.७ मा पुग्यो ।
सोमबार ७६ कम्पनीको सेयर मूल्य वृद्धि देखिँदा १०२ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । सोमबार सुरुदेखि नै जलविद्युत कम्पनीको मूल्यमा दबाब परेको थियो । आइतबार जलविद्युत, विकास बैंक र वित्त कम्पनीहरुले उचालेको सूचक सोमबार जलविद्युतमा पहिरो गएपछि समग्र सूचकमै प्रभावित भयो ।
पछिल्ला दिनहरुमा सेयर बजारलाई जलविद्युतले चलायमान बनाइरहेको छ । सोमबार जलविद्युतसँगै उत्पादनमूलक, लघुवित्त, म्युचुअल फण्ड, लगानी र अन्य समूहको सूचक ओरालो लागेको छ ।
बैंकिङ व्यापार, होटल तथा पर्यटन, विकास बैंक, वित्त, जीवन तथा निर्जीवन बिमामा सामान्य वृद्धिले बजार टिकाउन सफल भयो । सोमबार अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
उता अधिकांश जलविद्युत कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ । २० वटा उच्च मूल्य गिरावट भएका कम्पनीहरुमध्ये १९ वटा जलविद्युत कम्पनी छन् । यद्यपि सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा कालिका पावर कम्पनीको साढे ६ प्रतिशत घटेको छ ।
आइतबारको तीव्र वृद्धि र सोमबारको कारोबार प्रवृतिले बजारमा अझै करेक्सनको संकेत गरेको छ । तर, आन्दोलनरत लगानीकर्ताहरुको मागलाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले सम्बोधन गरेमा भने बजारमा उछाल आउन सक्छ । लगानीकर्ताहरु विभिन्न डेढ दर्जन माग राख्दै भदौ २१ देखि आन्दोलनमा छन् । खासगरी सेयर धितो कर्जाको सीमा ४ करोड १२ करोड रुपैयाँको सीमा परिवर्तन माग गरिरहेका छन् ।
शुक्रबार आएको बजेटको प्रतिस्थापन विधेयकले जलविद्युत क्षेत्रका ठूला आयोजनामा विभिन्न कर छुटको नीति अघि सारेको असर आइतबारको बजारमा देखिए पनि सोमबार भने निस्तेज भयो । जसले बजार स्थिर बनाउँदै घट्नेतर्फ संकेत गरेको छ ।
सोमबार कारोबार रकम भने आइतबारको तुलनामा सामान्य घटेको छ । आइतबार ९ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ९ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार अरुण भ्याली हाइड्रोपावरको ६१ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।