विराटनगर । अपांगता भएका व्यक्तिहरुले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्याउन विराटनगरमा कोसेली घर निर्माण गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को ७ लाख रुपैयाँ सहयोगमा राष्ट्रिय अपाङ महासंघ प्रदेश समितिले कोसेली घर सञ्चालनमा ल्याएको हो ।
विराटनगर–११ जनपथ टोलमा सञ्चालित कोसेली घरमा अपांगता भएका व्यक्तिहरुले उत्पादन गरेका सामाग्री रहनेछ । आयआर्जनको क्षेत्रमा जोडिएका अपांगता भएका व्यक्तिहरुले घरमै बसेर उत्पादन गरेका सामानलाई कोसेली घरमा केन्द्रित गरेर बिक्री गरिने संघले जनाएको छ ।
राष्ट्रियअपांग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठका अनुसार तालिम पाइसकेका अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेको सामान बिक्रीका लागि समस्या रहेकोले त्यसको बजारीकरण गर्ने लक्ष्यसहित बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।
पहिलो पटक कोसेली घर स्थापनाका लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । यो वर्ष पनि ५ लाख कोसेली घरको लागि छुटयाइएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ । कोशेली घरको सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले सोमबार उद्घाटन गरेका थिए ।
कोसेली घरमा अगरबत्ती, हार्पिक, फिनेल, मुडा, गुडिया, कुचो, कुसन, क्रिष्टलका पोते र कस्मेटिक सामग्री पाइनेछ । अपांगता भएका व्यक्तिहरुले आय–आर्जनका लागि बनाएका यी सामग्री बिक्री केन्द्रमार्फत खुद्रा बिक्री गरिनेछ ।
त्यसका लागि दुईजना कर्मचारी राखिएको छ । यस्ता सामग्री उत्पादनलागतका आधारमा व्यक्तिसँग खरिद गरेर बिक्री केन्द्रमा राखिनेछ । नाफासहित बिक्री गरेर कर्मचारी व्यवस्थापन, कोठा भाडा बुझाएपछि बाँकी रहेको रकम संरक्षण कोषमा राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
जिल्लामा सहजै पाइने कच्चा पदार्थमा आधारित वस्तु उत्पादन गर्नका लागि अपांगता भएका व्यक्तिहरुलाई तालिम समेत दिइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार प्रदेशभरमा ३५ जनाभन्दा धेरैले आयआर्जनका लागि व्यवसायीक वस्तु उत्पादनको काम गर्दै आएका छन् । तर, उनीहरुले उत्पादन गरेको सामाग्री बजारसम्म ल्याउन असहज हुने भएका कारण बिक्री केन्द्र स्थापना गर्नुपर्ने अवस्था आएको अध्यक्ष श्रेष्ठको दाबी छ ।
२०६८ सालको जनगणनाअनुसार प्रदेश १ मा मात्रै विभिन्न प्रकारका गरेर ९५ हजारको हाराहारीमा अपांगता भएका व्यक्तिहरुको संख्या रहेको छ । उनीहरुमध्ये परिवारसँग आश्रित भइनरहनु पर्ने व्यक्तिहरुलाई विभिन्न सीपसँग जोडेर आयआर्जनको बाटो लगाउने काम भइरहेको छ ।