काठमाडौं । व्यवसाय विस्तारमा समस्या भएपछि हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आफूलाई बैंकमा रूपान्तरण गर्ने भएको छ । सञ्चालक समिति बैठकले एचआईडीसीएललाई बैंकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
एचआईडीसीएललाई नेपाल राष्ट्र बैंकको दायरामा ल्याउन संभावना, विकल्पहरू र त्यसको प्रक्रियाका बारेमा प्रारम्भिक अध्ययन सुरु गरिएको सीईओ अर्जुनकुमार गौतमले बताए । एचआईडीसीएललाई बैंकमा रूपान्तरण गर्न वाह्य विज्ञसहितको व्यवस्थापन टिमले अहिले अध्ययन थालेको उनले जानकारी दिए । अध्ययन प्रतिवेदन प्राप्त भएपछि सोहीअनुसार अघि बढ्ने तयारी कम्पनी व्यवस्थापनको छ ।
यद्यपि कम्पनीलाई बैंक बनाउन सरकार र राष्ट्र बैंकको स्वीकृति चाहिन्छ । यस्तै साधारणसभाबाट पनि पारित हुनुपर्छ । जलविद्युतमा लगानी जुटाउनका लागि तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टको पहलमा २०६८ असारमा एचआईडीसीएल स्थापना भएको हो । स्थापनाको ११ वर्षको अवधिमा कम्पनीले ६ अर्ब रुपैयाँ मात्र जलविद्युतमा कर्जा प्रवाह गरेको छ ।
वाणिज्य बैंक वा पूर्वाधार बैंकमध्ये कुनै बैंक बनाउने अध्ययनपछि मात्र निक्र्यौल हुने उनको भनाइ छ । एचआईडीसीएललाई बैंक बनाउन राष्ट्र बैंकका उच्च अधिकारीहरूसँग एक चरण अनौपचारिक कुरा भएको सीईओ गौतमले जानकारी दिए । एचआईडीसीएललाई बैंक बनाउने विषयमा केन्द्रीय बैंकका अधिकारीहरू सकारात्मक भएको उनले सुनाए ।
कम्पनी यथास्थितिबाट सञ्चालन हुन नसक्ने निश्कर्षमा सञ्चालक समिति र व्यवस्थापन पुगेको उनको भनाइ छ । ‘अहिले एचआईडीसीएल राष्ट्र बैंकको नियमनमा पर्दैन । राष्ट्र बैंकले चिन्दैन । लगानी बढाउन धेरै कुरामा समस्या आउने निश्कर्ष निक्लिएको हो,’ उनले क्यापिटल नेपालसँग भने, ‘त्यही भएर एचआईडीसीएल केन्द्रीय बैंकको नियमनमा कुनै न कुनै रूपमा आउनुपर्छ ।’
वित्तीय परिचालन गर्न समस्या भएको अहिलेको अवस्थामा संस्थालाई यथास्थितिमा राखेर अघि बढाउन नसकिने व्यवस्थापनको निश्कर्ष रहेको उनले बताए । ‘एचआईडीसीएललाई संस्थागत रुपान्तरण गर्नुपर्यो, त्यो भनेको राष्ट्र बैंकको नियमनको दायरामा लैजान हो’ उनले भने ।
यही अवस्थामा अब कम्पनीले लगानीकर्ताले अपेक्षा गरेअनुसारको लाभांश दिन नसक्ने उनको भनाइ छ । लाभांश दर पनि घट्ने संभावना रहेको उनले सुनाए । कम्पनीले गत वर्ष १० प्रतिशत लाभांश दिएको थियो ।
विशिष्टीकृत संस्था भएकाले १० वर्षमा एचआईडीसीएललाई जलविद्युतमा धेरै लगानी गर्ने बनाउने योजना रहेको सुनाउँदै सीईओ गौतमले भने ‘एक दशकमा न्यूनतम १ खर्ब ५० अर्ब रुपैयाँ जलविद्युतमा लगानी वृद्धि गर्ने योजना छ । बैंकमा रूपान्तरण भएन भने त्यो लक्ष्य पूरा हुँदैन ।’
कम्पनीलाई अहिले ऋण लगानी गर्न समस्या भएको उनको तर्क छ । ‘राष्ट्र बैंकले २०६९ मा बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणमा सहभागी भएर मात्र ऋण लगानी गर्नु भन्ने म्यान्डेट दिएको छ । यस्तो भएपछि कम्पनीले नेतृत्व गरेर ऋण लगानी गर्न पाइएन’ सीईओ गौतमले भने ।
एचआईडीसीएलले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जस्तो सिधै तथा स्वतन्त्र रूपमा लगानी गर्न नपाएपछि ऋण लगानीको क्षेत्र संकुचन हुँदै गएको उनको तर्क छ ।
उनले सीईओको कार्यभार सम्हालेपछि कम्पनीको ४ वर्षे रणनीति तयार पारेको बताए । चाटर्ड एकाउन्टेन्ट गौतमले वैशाखको दोस्रो सातादेखि कम्पनीको जिम्मेबारी सम्हालेका हुन् । नयाँ रणनीतिलाई सफल बनाउन संस्था बैंकमा रुपान्तरण हुनुपर्ने उनको शर्त छ ।
थप लगानी जुटाउन कम्पनीको प्रवन्धपत्रले विदेशी संस्था र गैर आवासीय नेपाल संघ (एनआरएन) सँग पनि ऋण लिन म्यान्डेट दिएको छ । विभिन्न बण्ड निष्कासनका साथै सर्टिफिकेट अफ डिपोजिट पनि डकुमेन्ट जारी गर्न भनेको छ । यी सबै काम गर्न राष्ट्र बैंकको अन्तिम स्वीकृति चाहिनेछ ।
राष्ट्र बैंकले स्वीकृति दिन उसको नियमनभित्र संस्था आउनुपर्ने देखिएको छ । राष्ट्र बैंकले नियमनभन्दा बाहिरका संस्थालाई लगानी स्वीकृति दिन सहज छैन ।
‘यसले एकातिर ऋण लगानी गर्न समस्या भयो भने अर्कोतिर स्रोत परिचालनमा समस्या भयो । स्पष्ट रूपमा केन्द्रीय बैंकको नियमनभित्र जानुको अब विकल्प छैन,’ उनले भने ।
कम्पनीपछि पूर्वाधार बैंक बन्न पनि सक्छ । राज्यका लागि आवश्यक हो हैन भन्ने छलफलको कुरा हो । अन्तर्राष्ट्रिय अभ्यास पनि हरेर निर्णय लिने उनको भनाइ छ ।
हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । हाल चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ छ । प्रतिफल राम्रो नदिने भन्दै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाले ३ अर्ब ३० करोड रुपैयाँ लगानी थप्न मानेनन् ।
एचआईडीसीएलमा सरकारको ५०, सञ्चय कोष, लगानी कोष र बिमा संस्थानको ३० र बाँकी २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा कम्पनीले ६३ अर्ब ८९ करोड रुपैयाँ खुदनाफा गरेको छ ।
कम्पनीको आम्दानीको मुख्य स्रोत बैंकहरुमा निक्षेप मुद्धति खातामा राखेर आउने ब्याज हो । चौथो त्रैमाशको वित्तीय विवरण प्रकाशित हुन बाँकी छ ।