काठमाडौं । पछिल्लो केही दिनयता जलविद्युत्, फाइनान्स र विकास बैंकको सेयर मूल्यमा उछाल आएपछि ठूल लगानीकर्ताले धमाधम नाफा बुक गरेर निस्किन थालेका छन् ।
वर्षौंसम्म २ सय रुपैयाँ पनि नपुगेका जलविद्युत कम्पनी, फाइनान्स र विकास बैंकको मूल्य स्थिर रहे पनि केही दिनयता ती कम्पनीको मूल्यमा उछाल आएपछि ठूला लगानीकर्ताले मौकाको चौका छोपिरहेका छन् ।
वर्षौंसम्म प्रतिफल दिन नसक्ने, प्रतिसेयर आम्दानी अत्यन्तै न्यून रहेका कम्पनीको मूल्य उचालिँदा समेत नियामक निकाय धितोपत्र बोर्डले बजारमा देखिएको विकृति रोक्न कुनै प्रयास नगर्दा साना लगानीकर्ता जुनसुकै बेला डुब्न सक्ने देखिन्छ ।
अहिले जलविद्युत्, फाइनान्स र विकास बैंकबाट ठूला लगानीकर्ता निस्किने र साना लगानीकर्ताले धमाधम सेयर किन्ने काम भइरहेको छ । ठूला लगानीकर्ताले वित्तीय विवरण कमजोर भएका, वर्षौंसम्म लगानीकर्तालाई केही दिन नसक्ने कम्पनी बेचिरहेका छन् । तर, सोही कम्पनीको सेयर साना लगानीकर्ताले किनेको देखिन्छ ।
१८०० को बुलमा सेयर किनेका लगानीकर्ताहरु अहिले पनि उस्किएका छैनन् । त्यही भएर पहिलो बुलबाट ठूलो पाठ सिकेकाहरु अहिले सुरक्षित लगानी गर्न लागिपरेका छन् । तर, पछिल्लो चरणमा सेयर बजारमा लागेका साना र मध्यम लगानीकर्ताहरुले जुन सेयरको भाउ बढेको छ, त्यही सेयर किनिरहेका छन् ।
कम्पनीको वित्तीय विवरण नहेरी, कम्पनीको प्रतिसेयर आम्दानी नहेरी, आरओईलगायतका केही पनि वित्तीय विवरण नहेरी सेयर किन्दा जतिखेर पनि लगानीकर्ता डुब्न सक्ने देखिन्छ ।
लगानीकर्ताले जहिले पनि सोच बिचार गरेर मात्रै लगानी गर्नुपर्ने देखिन्छ । हरेक सचेत लगानीकर्ताले सेयर बजारलाई जुवा घर बनाउन हुँदैन । यदि अन्धाधुन्ध सेयर किन्न थालियो भने त्यसले भविष्यमा विकराल अवस्था ल्याउने र बजारप्रति बढ्दै गएको विश्वास समेत गुम्ने अवस्था आउने ठूला लगानीकर्ताको बुझाइ छ ।
साताको पहिलो दिन सेयर कारोबारले नयाँ रेकर्ड बनाएको छ । यसअघि १७ अर्ब २७ करोडको रेकर्डलाई तोड्दै आइतबार १९ अर्ब ५५ करोडको ३ करोड ७० लाख कित्ता सेयर किनबेच भएको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.३२ अंकले बढेर २९८३.११ विन्दूमा राेकिएकाे छ। आइतबार जलविद्युत् कम्पनी, फाइनान्स, र विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।