बुधबार, साउन १३ २०७८ १०:५० AM

×

सञ्चय कोषले थाल्यो ब्याजदर पुनरावलोकन, साउनदेखि नयाँ दर लागू हुने 

images

काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदरको पुनरावलोकन थालेको छ । आगामी आर्थिक वर्षका लागि नयाँ ब्याजदर लागू गर्नका लागि कोषले पुनरावलोकन सुरु गरेको हो । सञ्चय कोषले एक समिति बनाएर सञ्चयकर्ताबाट लिने तथा उनीहरुलाई ऋण लगानी गर्ने र परियोजना कर्जाको ब्याजदरमा पुनरावलोकन गर्न थालेको छ ।

ब्याजदर पुनरावलोकनको काम समितिले गरिरहेको सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए । ब्याजदर घटबढ वा स्थिर समितिको प्रतिवेदन आएपछि मात्र निश्चित हुने उनले स्पष्टपारे । समितिले असारको दोस्रो सातासम्म आफ्नो प्रतिवेदन बुझाउनेछ ।

सो प्रतिवेदनको थप अध्ययन गरेर पारितका लागि सञ्चालक समितिमा लैजाने र साउन १ गतेदेखि नयाँ ब्याजदर लागू हुने उनले जानकारी दिए । कोरोना महामारीको दोस्रो चरणको संक्रमणका कारण ब्याजदर स्थिर रहने संभावना पनि छ । 

कोषले चालू आर्थिक वर्षका लागि जलविद्युत आयोजनाको ब्याजदर घटाएर ९.५ प्रतिशतमा झारेको छ । यसअघि  १२ प्रतिशत ब्याजदर थियो । कोषको लगानीमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी र ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजनाहरु निर्माण भइरहेका छन् ।

ब्याजदर कम भएपछि आयोजनाको लागत केही कम हुनेछ । ५ वटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन् । कोषले तामाकोसीको पेव्याक पिरियड बढाएर १५ वर्ष पुर्याइसकेको छ ।

यस्तै कोषले सञ्चयकर्तालाई दिने ब्याजमा ७ प्रतिशत र १ प्रतिशत नाफाबाट लाभांश दिएको छ । लाभांशसमेत गरी कोषले सञ्चयकर्तालाई दिने ब्याजदर ८ प्रतिशत हुन्छ । यो दर बैंकहरुले दिने मुद्दतीको भन्दा बढी हो । यसैगरी सञ्चयकर्तालाई साढे ८ प्रतिशत ब्याजमा आवास निर्माणलगायत अन्य कर्जा दिएको छ । यसको ब्याजदरमा पुनरावलोकन हुनेछ ।

ब्याजदर बढ्ने र घट्ने वा स्थिर रहने अहिले नै भन्न सक्ने अवस्था नरहेको प्रशासक गौतमको भनाई छ । कोषको मुख्य आम्दानीको स्रोत मुद्दती  निक्षेप रहेको छ । मुद्दती निक्षेपको ब्याजदरमा भारी गिरावट आएपछि सञ्चय कोषको आम्दानी र नाफामा कमी आएको छ ।

कोषलाई बैंकहरुले दिने मुद्दती  निक्षेपको औसत ब्याजदर ७.५ प्रतिशत हारहारीमा छ । ३ वर्षअघि सम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) का कारण कोषले परियोजना कर्जामा १२ प्रतिशतसम्म ब्याज लिने गरेको थियो । त्यसपछि निरन्तर घटाउँदै लगेको छ । 

जलविद्युत आयोजनाहरुमा सञ्चय कोषले  ३० अर्ब रुपैयाँ बढी ऋण लगानी गरेको छ । गत वर्षसम्म कोषले २७ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । ब्याजदर घटेपछि आयोजनाको लागत कम हुने भएको छ । नयाँ बन्ने आयोजनाले पनि सस्तो ब्याजमा कोषबाट ऋण पाउने भएका छन् । 

बैंकहरुको ब्याजदर घट्पछि सञ्चय कोषले पनि पुनरावलोकन गरेको उनको भनाइ छ । गत वर्ष मात्रै कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा ७५ अर्ब रुपैयाँ बढी मुद्दती  निक्षेप राखेको थियो । सञ्चय कोष बैंकहरुको सबैभन्दा ठूलो संस्थागत निक्षेपकर्ता हो । 

 चालू आर्थिक वर्षदेखि कोषले निक्षेप–कर्जाको ब्याजदरअनुपात (स्प्रेड) दर १.२५ प्रतिशत मात्र राखेको छ ।  गत वर्ष सञ्चय कोषको नाफा १७.३४ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षमा सञ्चय कोषले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको नाफा ४ अर्ब ४४ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ७७ करोड रुपैयाँ कम भएको छ । 
 

आइतबार​ ३० जेठ २०७८ ०८:४० AM मा प्रकाशित

प्रतिक्रिया