मङ्गलबार, असोज १२ २०७८ ०५:२८ PM

×

सवारी एसेम्बल अन्तशुल्कको छुटमा नाडाको स्वागत, दुईपाङ्ग्रेको कर बढेकोमा असन्तुष्टि

images

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को प्रतिस्थापन बजेटले सवारी एसेम्बल उद्योगलाई अन्तशुल्कमा ५० प्रतिशत छुट दिने घोषणालाई अटोमोबाइल उद्योगीहरुको संस्था नाडाले स्वागत गरेको छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रतिस्थापन बजेटको उक्त घोषणा एसेम्बलिङ उद्योगका लागि कोशेढुङ्गा सावित हुने नाडाको अपेक्षा रहेको अध्यक्ष कृष्ण दुलालले बताएका छन् । 

नाडाले विगत दश वर्षदेखि एसेम्बलिङ उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महसुल दुबैमा ५० प्रतिशत छुटको सरकारसँग अनुरोध गर्दै आइरहेको थियो ।

यसपटक भने सरकारले प्रतिस्थापन बजेटमार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ म पर्ने सवारी साधनको पैठारी गर्दा लाग्ने अन्तशुल्क महसुलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको हो । 

दुईपाङ्ग्रेको कर बढेकोमा असन्तुष्टि 

तर, सरकारले एकातिरको दायित्वभार कमी गरे पनि १२५ सीसीभन्दा माथिका दुई पाङ्ग्रे अर्थात मोटरसाइकल सवारीमा अन्तशुल्क र सडक दस्तुर बढाएकोमा भने नाडाले असन्तुष्टि व्यक्त गरेको छ ।

कोभिड संकटको अवस्थामा दुई पाङ्ग्रे सवारीको माग उच्च रहेको बेला उक्त सेग्मेन्टमा रहेका पुरानै व्यवस्थालाई निरन्तरता दिनुपर्ने उनले बताए । कोभिड संकटकालमा दुई पाङ्ग्रे सवारीमा ७० प्रतिशतले खरिद बिक्री बढेको थियो । 

पत्रकार सम्मेलनमा बोल्दै सीजी मोटर्सका करन चौधरीले भने, ‘दुईपाङ्ग्रे सवारीमा हाल २४ प्रतिशत बजार हिस्सा ओगटेको १२५ देखि १५५ सीसी सवारीमा सेग्मेन्टलाई १५५ देखि २०० सीसीको पावर सेग्मेन्टसँग जोडेर न्युन आयको मान्छेलाई मध्यम आय भएका मान्छेसँग गाभिदिए जस्तो भयो ।

कोभिडका कारण मान्छेहरु सुरक्षित हुन दुई पाङ्ग्रेको साहारा लिइरहेको समयमा यस्तो नगरेको भए उचित हुने थियो । पुरानै शुल्कलाई निरन्तरता दिएको भए अझ धेरै मानिसहरुलाई सुरक्षित रहनसक्ने वातावरण बन्ने थियो ।’

सरकारले गरेको नयाँ छुटको व्यवस्थामा नीतिगत स्तिरता रहने हो भने नेपालमा गाडीको मूल्य ८ देखि १० हजार रुपैयाँसम्मले सस्तो पर्न आउने अध्यक्ष दुलालले बताए । 

‘यसअघि २५ प्रतिशत अन्तशूल्कले खासै उद्योगलाई राहत नदिएको कारण गाडीको मूल्यमा खासै फरक नआएको हो । तर पछिल्लो छुटले भने गाडीको मूल्यमा ८ देखि १० हजारसम्मको फरक ल्याउन सक्छ ।’

आइतबार​ २७ भदौ २०७८ ०६:२९ PM मा प्रकाशित

प्रतिक्रिया