काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि यसको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पुर्यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो ।
धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको अध्ययनका क्रममा पाइएको छ । प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ ।
बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको ‘इनटेक’को भागमा ठोकिएको र त्यसले क्षति पुर्याएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोलीले यहाँ पुगेर यसको अध्ययन थालेको छ । यो अध्ययनबाट ठूलो ढुङ्गाले संरचनामा क्षति पुर्याएको देखिएका छ ।
‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ । उनले भने, “निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ ।”
यो पनि हेर्नुहोस
मेलम्चीको पानी आउन ३ महिना लाग्ने, क्षतिग्रस्त संरचना मर्मत गर्न १ अर्ब खर्च हुने अनुमान
मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयरद्वय शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थिए । केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो ।
अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै १ अर्ब ८० करोड रुपैयाँको क्षति भएको छ । अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए । यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ । उनले भने, “तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन ।”
पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ । अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकामा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ । उनले भने, “अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ ।”
यो पनि हेर्नुहोस
बाढीबाट क्षतिग्रस्त संरचना मर्मतको तयारी हुँदै, असोजसम्म मेलम्चीबाट आउला त पानी ?
आयोजनामा दुईपटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ । पहिलोपटक बाढी आएको भोलिपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो ।
सामान्यतया अरु आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ । आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो ।
सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधिक पठाएर परीक्षण गरिएको थियो । पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो । पछिल्लोपटक परामर्शदाताबाट अर्को चरणमा निरीक्षण भएको छ ।
निर्माणस्थलमा रहेका संरचना सफा गर्न धेरै उपकरण लैजानुुपर्ने अनुमान गरिएको छ । त्यसका लागि पहिले प्रवेशमार्गको निर्माण अघि बढ्नुपर्ने प्रवक्ता पन्तले बताउनुभयो । सडक र पुल बनाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।
वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण शुरु गर्न सकिनेछ । अस्थायी संरचना बनाउँदा आयोजनामा आवश्यक उपकरण लैजान सकिने उनले बताए । सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयवासी दुवैलाई सजिलो हुनेछ । सडक तत्काल खुलाउने विषयमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको उनले जानकारी दिए ।
अहिले नदीमा बाढी आउनसक्ने र यसले दायाँबायाँ धार बदल्न सक्ने देखिएको छ । वर्षा कम भएपछि आयोजना पुनःनिर्माण काम शुरु गर्न सकिन्छ । सामान्यतया भदौ महिनासम्म वर्षा हुने भएकाले त्यसपछि काम शुरु गर्न सकिने समितिले जनाएको छ । अहिले तत्काल स्थायीरुपमा सडक निर्माण गर्न नसकिने भए खोलाबाट सडकको ट्र्याक राखेर भए पनि हेडवर्कसम्म पुग्न सकिन्छ ।
अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुङ्गो नभएको प्रवक्ता पन्तले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम शुरु गर्ने अवस्था छैन । अहिले सडक बनाउँदा नदीले बगाउने हुँदा अस्थायी बाटो बनाउन पनि वर्षा सकिनुपर्ने बाध्यता रहेको उहाँले बताए । कम्तीमा असोजमा काम शुरु गर्न सकिन्छ ।
निर्माणस्थलसम्म पुग्ने करिब सात किमी सडक बगाएको छ । उहाँका अनुसार खोलाबाट ढुङ्गा हालेर पनि ट्र्याक बनाएर उपकरण लैजान सकियो भने हेडवर्क सफा गर्ने काम शुरु हुनेछ ।
हेडवर्कमा क्षति कम भएमा र सुरुङ सफा गरे पुग्ने अवस्थामा काठमाडौँमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ । ‘हेडवर्क’ भन्दा माथिल्लो भागमा रहेको ‘कफर ड्याम’ लाई अस्थायीरूपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताए ।
अहिले पहिरोले गर्दा अम्बाथान ‘अडिट’ को मुखबाट टालिएको छ । त्यसलाई खोलेर त्यो खण्डको पानी निकाल्न सकियो भने सुन्दरीजल सिन्धु ग्यालथुमबाट हेरेर सुधार गर्न सकिने उहाँले बताउनुभयो ।
नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौँ ल्याउन सकिन्छ । पानी पुनःसुन्दरीजल ल्याउन ‘हेडवर्क डाइभर्सन’ सुरुङ सफा हुनुपर्छ ।हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ ।
अहिले पनि ‘हेडवर्क’ को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताए । अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उहाँले बताए। अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ ।
निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरु भएको थियो ।
कार्यतालिकाका आधारमा असार १ गतेदेखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन । रासस